काठमाडौं १७ मंसिर । उद्योग मन्त्रालयले बन्द रहेका सरकारी उद्योग सञ्चालनको घोषणा गरिरहेका बेला मन्त्रालय मातहतका १४ संस्थानमध्ये दुई उद्योग मात्रै सञ्चालनमा रहेको पाइएको छ । मन्त्रालय मातहतमा हेटौंडा र उदयपुर सिमेन्टबाहेक कुनै पनि उद्योगहरू सञ्चालनमा छैनन् ।
जनकपुर चुरोट कारखाना र कृषि औजार कारखाना खारेजीमा गइसकेका छन् भने बाँकी १० संस्थान बन्द अवस्था छन् । यसले बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने उद्योगमन्त्री नवीन्द्रराज जोशीको घोषणा कार्यान्वयन चुनौतीपूर्ण रहेको देखिएको छ ।
सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धाका लागि नभई उनीहरूलाई सिन्डिकेट तथा मूल्यमा कार्टेलिङ गर्न नदिन उद्योग स्थापना गरे पनि सञ्चालन नहुँदा उद्देश्य पूरा हुन सकेको छैन ।
यसले अर्बौंबराबरको सरकारी लगानीसमेत खेर गएको छ । बन्द भएका संस्थानमा रहेका कर्मचारीको तलब–भत्ता तथा अन्य लागतलगायत अन्य खर्चको भार सरकारले बेहोर्दै आएको छ ।
उद्योगमन्त्री जोशीले मन्त्रालयको कार्यभार सम्हाले लगत्तै बन्द उद्योगहरू सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेका थिए ।
उनले पहिलो पटक नेपाल औषधि लिमिटेड र हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग मन्त्रालयका प्रशासन तथा संस्थान महाशाखा प्रमुख यमलाल भुसाल बन्द रहेकामध्ये केही उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँछन् ।
कतिपय उद्योग रुग्ण भए पनि सञ्चालनका लागि सरकारले अध्ययन गरिरहेको उनले बताए । गत असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले औषधि लिमिटेड सञ्चालनका लागि १४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गर्ने निर्णयसमेत गरिसकेको छ ।
यस्तै, हेटौंडा कपडा उद्योगमा सेना, प्रहरी तथा निजामती सेवाका लागि पोसाक तयार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याउन लागिएको छ ।
हेटौंडा कपडालाई पहिलो चरणमा सरकारी पूर्वाधारमै उद्योग सञ्चालन गर्ने र पछि निजी लगानीकर्तालाई सहभागी गराउने लक्ष्य राखिएको छ ।
उद्योगमन्त्री जोशीले विगतमा जुनसुकै कारणले बन्द भए पनि अब त्यस्ता उद्योगले पुनर्जीवन पाउने बताएका छन् ।
साना उद्योगको संरक्षण र ठूला उद्योगमा लगानीका लागि प्रोत्साहन गर्ने उनको कार्ययोजना रहे पनि लगानीको स्रोत जुटाउन भने गाह्रो पर्ने जानकारहरू बताउँछन् ।
औषधि लिमिटेडपछि, कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना, ओरिण्ड म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने तयारी सरकारको छ ।
सञ्चालनमा रहेका हेटौंडा र उदयपुर सिमेन्टमध्ये उदयपुर सिमेन्ट पनि पटक–पटक बन्द हुँदै आएको छ ।
बन्द उद्योगबाट सरकारलाई बर्सेनि करोडौं रुपैयाँ घाटा थपिँदै आएको छ भने भएका पूर्वाधारहरू पनि काम नलाग्ने भएका छन् ।
बन्द भएका अधिकांश उद्योग राजनीतिक भर्तीकेन्द्र बनेपछि घाटा थेग्न नसकेर बन्द भएका हुन् ।
देशको सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिल २०७१ असोज तेस्रो सातादेखि बन्द छ । विराटनगर–२२ स्थित ६० विघामा स्थापित यो उद्योग पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा बन्द भएको हो । उद्योगको आफ्नै विद्युत् टर्वाइन हाउस, जोगवनी रेल्वे स्टेसनलाई जोड्ने यार्ड पनि छ ।
पटक–पटक बन्द हुँदै सञ्चालन हँुदै आएको यो उद्योग २०४६ पछि राजनीतिक भर्ती केन्द्र बनाइएको थियो । सरकारले पटक–पटक सञ्चालनका लागि विज्ञ समिति गठन गरे पनि प्रयास सफल हुन सकेन ।
यस्तै, वीरगन्ज चिनी उद्योग २०५९ देखि बन्द छ भने गोरखकाली रबर उद्योग ०७२÷७३ मा उत्पादन शून्य अवस्थामा छ । बुटवल धागो उद्योग पनि ०६६ बाटै बन्द भएको छ ।
हेटौंडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । यो उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भई २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो ।
०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन थियो ।
०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले हेटौंडा कारखानाको सम्पत्ति सेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।
बन्द उद्योगहरू
नेपाल ओरिण्ड म्याग्नेसाइट
नेपाल मेटल कम्पनी
नेपाल औषधि लिमिटेड
विराटनगर जुट मिल्स
बुटवल धागो कारखाना
गोरखकाली रबर
वीरगन्ज चिनी कारखाना
हेटौंडा कपडा उद्योग (कारोबार दैनिक)
Comment