अर्थतन्त्र सुधारका लागि पूर्वअर्थमन्त्री डा.खतिवडाले दिए टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र सुधारका लागि पूर्वअर्थमन्त्री डा.खतिवडाले दिए टिप्स



काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए । आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रवैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने खतिवडाले बताए । उनले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्या छ । कृषि सडक देखि जलविद्युत सवै क्षेत्रमा आयात गर्नुपरेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।’

आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालिन र दिर्घकालिन नीति बनाएर अघि बढ्न उनले सुझाव दिए । मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै उनले सरकार संयम हुनुपर्ने बेला आएको बताए । उपभोग्य बस्तुहरुको अभावसँगै मुल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको डा खतिवडाको भनाई छ ।

मुलुकको अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगट्ने नीजि क्षेत्र पनि जिम्मेवार हुनुपर्ने खतिवडाले बताए । घर जग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हदसम्म रोक्ने हो भने पनि त्यसले विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव पार्ने खतिवडाले बताए ।

अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उनले व्यवहारिक रुपमै ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हेर्न चाहेको बताए ।

प्रकाशित : २० बैशाख २०७९, मंगलवार २१:५६