कति छ डोनाल्ड ट्रम्पको सम्पत्ति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति छ डोनाल्ड ट्रम्पको सम्पत्ति?



गतवर्षको जुलाईमा डोनाल्ड ट्रम्पले आफ्नो कूल सम्पत्ति करिब १० अर्ब डलर रहेको बताएका थिए। तर फोर्ब्सले मात्र ४.५ अर्ब डलर मूल्यांकन गर्‍यो। यो वर्ष त्यसलाई अझ घटाएर फोर्ब्सले डोनाल्ड ट्रम्पको नेट वर्थ कूल मूल्य ३.७ अर्ब डलर मात्र रहेको बतायो। उक्त म्यागजिनका अनुसार न्युयोर्क सहरमा रहेको सम्पत्तिको मूल्यमा करिब ८० करोड डलर गिरावट आएपछि उनको सम्पत्ति घटेको हो।

ट्रम्पको सम्पत्तिका क्षेत्रः

१. रियल स्टेट

रियल स्टेटमा ट्रम्प परिचित नाम हो। अमेरिकाका केही सबैभन्दा महंगा केही सम्पत्ति ट्रम्पले बेचेका छन्। भर्जिनिया, इलिनोइ, फ्लोरिडा, न्यु जर्सी, नेभाडा, क्यालिफोर्निया, न्युयोर्क, कनेक्टिकट, हवाईजस्ता स्थानमा उनका सम्पत्ति रहेका छन्। ट्रम्प टावर, ट्रम्प प्लाजा, ट्रम्प प्यालेस केही उदाहरण मात्र हुन्।

म्यानहटनको ट्रम्प टावर

विदेशमा पनि उनको प्रशस्त सम्पत्ति छ। क्यानडा, टर्की, पानामा, दक्षिण कोरिया, फिलिपिन्स, भारत र उरुग्वेमा उनको सम्पत्ति रहेको छ।

ट्रम्पको रियल स्टेट सम्पत्ति विविध प्रकारका छन्। सैयौँ आवासीय युनिट र अफिसहरुलाई भाडामा लगाइएको छ। जसबाट ट्रम्प अर्गनाइजेसनलाई नियमित आम्दानी हुने गर्छ।

२. होटेल

ट्रम्प अर्गनाइजेसनअन्तर्गत होटेलहरु प्रसिद्ध होटेलहरु छन्। त्यसबाहेक ट्रम्प नामको लाइसेन्स पनि उक्त अर्गनाइजेसनले वितरण गर्ने गरेको छ। इलिनोइ, नेभाडा, फ्लोरिडा, न्युयोर्क र हवाईमा ट्रम्प होटेल रहेका छन्। त्यसैगरी आयरल्याण्ड, पानामा र क्यानडामा उनका होटल छन् भने अन्य कतिपय स्थानमा उनको स्वामित्वमा रहेका होटलहरु निर्माणाधीन अवस्थामा छन्।


पानामास्थित ट्रम्प होटेल

प्रसिद्ध ट्रम्प होटेलमध्ये सिकागोको ट्रम्प इन्टरनेसनल होटेल एण्ड टावर, हवाईको ट्रम्प इन्टरनेसनल होटेल एण्ड टावर वाइकिकी बिच वाक अल्ट्रा लक्जरी प्रोपर्टी मानिन्छ।

सन् २०१६ मा ट्रम्प नामबाट भ्यानकुभर, रियो दि जेनेरियो, वाशिंगटन डिसी र बाकुमा अन्य होटलहरु खुल्दैछन्।

३. गल्फ कोर्स

ट्रम्प अर्गनाइजेसनको एक महत्वपूर्ण भाग हो गल्फ कोर्स। अगस्ट २०१६ सम्ममा ट्रम्प अर्गनाइजेसनका नाममा १७ प्रतिष्ठित गल्फ कोर्स रहेका छन्, जसलाई खेल क्षेत्रमा ठूला नाम रहेका सेलिब्रेटीहरुले डिजाइन गरेका हुन्। स्कटल्याण्डमा रहेको ट्रम्प टर्नबेरी गल्फ कोर्स ऐतिहासिक कोर्समध्ये एकमा पर्छ। ट्रम्प अर्गनाइजेसनले दुबईमा दुई ओटा नयाँ गल्फ कोर्स निर्माण गरिरहेको छ।

स्कटल्याण्डस्थित गल्फकोर्स

४. क्यासिनो

सुरुमा डोनाल्ड ट्रम्पलाई अरबपतिका रुपमा स्थापित गर्न उनका क्यासिनोहरुको ठूलो हात थियो। ९० को दशकमा ट्रम्पको नाममा रहेका तीन क्यासिनोहरु ट्रम्प प्लाजा, ट्रम्प क्यासल र ट्रम्प ताज महलको सेयरमा ठूलो वृद्धि देखिएको थियो। तर अहिले कुनै पनि क्यासिनो ट्रम्पको स्वामित्वमा छैन। यद्यपि अरुले नै उनको नामको लाइसेन्स लिएर ती क्यासिनोहरु चलाइरहेका छन्।

५. ट्रम्प मोडेल म्यानेजमेन्ट

ट्रम्प अर्गनाइजेसन अन्तर्गत रहेको ट्रम्प मोडल म्यानेज्मेन्ट कम्पनीले मिस युएसए र पेजेन्ट प्लेसजस्ता प्रतिस्पर्धाहरु आयोजना गर्ने गर्दछ।

मिस युएसए २०१३ एरिन ब्राडीका साथमा ट्रम्प

गत मे महिनामा ट्रम्पले ‘पर्सनल फाइनान्सियल डिस्क्लोजर (पिएफडी) फेडेरल इलेक्सन कमिसनलाई बुझाए। जसअनुसार ट्रम्पसँग रहेका सम्पत्तिको विवरण यसप्रकार छः

– कम्तीमा १.४ अर्ब डलरबराबरको भौतिक सम्पत्ति। जसमा ४० वाल स्ट्रिट, ट्रम्प टावर, गल्फ कोर्स रिसोर्टहरु, एउटा हवाई जहाज, आदि पर्छन्। सबैको मूल्यांकन ५ करोड डलरभन्दा माथि।

– गल्फ कोर्स र रिसोर्टबाट ३० करोड भन्दा बढी आम्दानी

– भाडामा दिइएको सम्पत्तिबाट १० करोड डलरभन्दा बढी आम्दानी

– अढाई करोड भन्दा बढीको ब्ल्याकरक्स अब्सिडियन फन्ड।

ट्रम्प कसरी धनी बने?

धनी परिवारमा जन्मिएका ट्रम्पले ८० को दशकमा रियल स्टेटको क्षेत्रमा केही महत्वपूर्ण लगानी गरे। पछि उनले ब्युटी पेजेन्ट, फुटबल टिम, टेलिभिजन शो, आदि खरिद गरे।

डोनाल्डका पिता फ्रेड ट्रम्पले दोस्रो विश्वयुद्धका सैनिकहरुलाई लक्षित गरी चलाएको रियल स्टेट व्यवसायबाट पैसा कमाएका थिए। डोनाल्डले पिताकै रियल स्टेट कम्पनीमा काम थालेका थिए। सन् १९७१ मा उनीले पिताको आपर्टमेन्ट भाडामा दिने कम्पनी ‘एलिजावेथ ट्रम्प एण्ड सन्स को.’ को नेतृत्व हाफ्नो हातमा लिए। पछि यसैलाई उनले ‘द ट्रम्प अर्गनाइजेसन’को रुपमा स्थापित गरे।

सन् १९८० मा ट्रम्पले होलिडे इन कर्पोरेसनसँग मिलेर एटलान्टिक सिटीमा २५ करोड डलरको होटेल र क्यासिनो कम्प्लेक्स ट्रम्प प्लाजा खोले। त्यसैको सेयर एकलौटी बनाएर उनले ट्रम्प प्लाजा होटेल एण्ड क्यासिनो नामाकारण गरे। लगत्तै उनले ३२ करोड डलरमा ट्रम्प क्यासल किने।

त्यसपछि उनले न्युयोर्कमा रियल स्टेट व्यवसाय फैलाउने कोशिस गरे तर उनले कैयौँ कानुनी झञ्झट बेहोर्नुप¥यो। ९० को दशकमा रियल स्टेट व्यवसायमा आएको मन्दीले ट्रम्पको उदाउँदो भविष्य ओरालोतर्फ लाग्यो।

टाट पल्टँदा

सन् ९० को दशकको सुरुमै अमेरिकाको अर्थतन्त्रमा मन्दी देखा पर्यो। त्यसपछि डोनाल्ड ट्रम्प आफ्नो ऋणको ब्याज तिर्नै नसक्ने अवस्थामा पुगे। त्यसबेला उनले भुक्तान गर्नुपर्ने वार्षिक ऋण ३० करोड डलर थियो। ट्रम्प अर्गनाइजेसनको दायित्व बढेर ९ अर्ब डलर पुगेको थियो र ट्रम्पको व्यक्तिगत ऋण नै झण्डै एक अर्ब पुगिसकेको थियो।

टाट उल्टिने अवस्थामा ट्रम्पले आफ्ना मुख्य चार ऋणदाता सिटी बैंक, ब्यांकर्स ट्रष्ट, चेस म्यानहटन बैंक र म्यानुफ्याक्चर्स जस्ता कम्पनी हनोभर ट्रष्टलाई भेटे। त्यसबेला ट्रम्पको सम्पत्ति ती बैंक र ट्रष्टहरुले जफत गर्ने हो भने उनीहरुलाई पनि ठूलो घाटा लाग्ने थियो।त्यसैले ट्रम्पलाई उल्टै ६ करोड ५ लाख डलर ऋण थपिदिनका लागि ती ऋणदाताहरुलाई उनले राजी गराए। बैंकहरु पाँच वर्षसम्म ट्रम्पलाई पर्खिन तयार भए। आफ्ना सम्पत्ति बेचेर ट्रम्पले त्यो ऋण तिरे। त्यसरी बेचेका सम्पत्तिमध्ये एउटा एयरलाइन्स कम्पनी ट्रम्प सटल पनि थियो। उनले आफ्नो याच साउदीका अर्बपति राजकुमार अलवालिद बिन तलाललाई बेचे। प्लाजा होटेलकै सेयर पनि उनले बेच्नुपर्यो।

पुनः भाग्योदय

तर १९९५ सँगै ट्रम्पको भाग्य चम्किन सुरु भयो। त्यही वर्ष उनले ट्रम्प होटेल एण्ड क्यासिनो रिसोर्ट स्थापना गरे। त्यसैताका १९८० मा खुलेको ग्र्याण्ड ह्यात बिल्डिङको व्यापार चम्किरहेको थियो। उनले आफ्नो सेयर १४ करोड डलरमा ह्यातलाई बेचे।

त्यही साल उनले ब्यांक अफ म्यानहटन ट्रष्टको भवन खरिद गरे। उनले त्यसलाई मात्रै १० लाख डलरमा किनेको बताए, जसलाई कसैले पत्याएनन्। अहिले फोब्र्सका अनुसार ट्रम्पको स्वामित्वमा रहेको सो भवनको मूल्य ५३ करोड डलर रहेको छ।
१९९९ मा ट्रम्पका पिता फ्रेडको मृत्यु भयो। सन् २००३ मा ट्रम्प र उनका दाजुभाइले पिताको सम्पत्तिको एक अंश झण्डै ५० करोड डलरमा बेचेको समाचार प्रकाशित भएको थियो।

लासभेगासको ट्रम्प टावर

ट्रम्पले त्यसपछि टिभीमा लगानी गर्न थाले। द एप्रेन्टिस मार्फत सन् २००४ मा उनले नाम कमाए। दश वर्ष सो टेलिभिजन शोमा काम गर्दा ट्रम्पले झण्डै २२ करोड डलर कमाएको बताइन्छ।

यसबाहेक ट्रम्पको ब्राण्ड मूल्य पनि उच्च छ। उनको स्वामित्वमा नरहेका थुप्रै सम्पत्तिहरुको नाममा ट्रम्प जोडिएको छ। यस्तो व्यवस्थामा उक्त सम्पत्तिको मालिकले ट्रम्पलाई लाइसेन्स शुल्क तिर्ने गर्छ। बदलामा उनीहरुले आफ्नो भवनको नाममा ट्रम्प जोड्न र लोगो प्रयोग गर्न पाउँछन्। यसबाट ट्रम्पले नियमित रोयल्टी समेत प्राप्त गर्छन्। उता लाइसेन्स लिने व्यवसायीहरुले ट्रम्प नामले गुणस्तर र लक्जरीको संकेत गर्ने हुनाले उच्च भाडा तथा सेवा शुल्क लिने गर्छन्। ट्रम्पले आफ्नो ब्राण्ड भ्यालु ३ अर्बभन्दा माथि भएको बताइरहँदा फोर्ब्सले २५ करोडभन्दा माथि रहेको बताएको छ।

त्यसैगरी रियल स्टेटबाहेक ट्रम्पको नाम अन्य उत्पादनहरु फर्निचर, अत्तर, पोशाक, म्याट्रेसजस्ता जोडिएका छन्। सन् २०१४ मा मात्रै ट्रम्पले ३० लाख डलरभन्दा बढी रकम कमाएको फोर्ब्सले जनाएको छ।

आफ्नो पुस्तक ‘द आर्ट अफ द डिल’ देखाउँदै ट्रम्प

व्यवसायिक सफलतासँगै ट्रम्पले पुस्तक पनि लेखेका छन्। उनले १९८७ मै ‘द आर्ट अफ द डिल’ नामक पुस्तक प्रकाशन गरे। ५१ हप्तासम्म बेस्टसेलर सूचीमा रहेको सो पुस्तक १० लाख प्रतिभन्दा बढी बिक्री भएको जनाइएको छ।

त्यही पुस्तक सन् २०१६ मा आएर पुनः चर्चामा आयो। सो पुस्तकका सहलेखक टोनी स्वार्जले द न्युयोर्करमा उक्त पुस्तकको प्रत्येक शब्द आफूले लेखेको विवादित लेख लेखेका थिए। उनले अर्को एक अन्तर्वार्तामा ‘मैले हस्तान्तरण गरेको पाण्डुलिपिमा डोनाल्ड ट्रम्पले केही राता चिन्ह मात्र लगाएको’ बताएका थिए। उनले सो पुस्तक लेखेकोमा आफूलाई पछुतो लागेको पनि बताए।

सन् २०१५ मा ट्रम्पले अर्को पुस्तक लेखे, ‘क्रिपल्ड अमेरिकाः हाउ टु मेक अमेरिका ग्रेट अगेन।’

विलासी डोनाल्ड

लामो संघर्षपछि व्यवसायमा सफलता हात परे पनि डोनाल्ड ट्रम्प विलासप्रेमी छन्। उनी ट्रम्प टावरको सिरानमा भर्सेलिसको दरबारको नमूनामा सजाइएको पेन्टहाउसमा उनी बस्छन्। भुईंदेखि सिलिङसम्मका झ्याल, हातले पेन्ट गरिएको भित्ता, पेन्टिङहरु, मार्बल, सुनको जलप लगाइएको ढोका, उनको विलासी जीवनका प्रमाण हुन्।

म्यानहटनको पेन्टहाउसभित्र ट्रम्पकी पत्नी मेलानिया

त्यसैगरी उनको पाम बिचमा रहेको मार आ लागो २० एकड जमिनमा फैलिएको छ। सो घर ५८ बेडरुम, ३३ बाथरुम, १२ चुलो, एउटा स्पा, एउटा स्वीमिङ पुल, एउटा टेनिस कोर्ट र नजिकै गल्फ कोर्सजस्ता सुविधाले सम्पन्न छ। त्यहीँ उनको भव्य बिहे पनि भएको थियो।

पाम बिचस्थित ट्रम्पको मार-अा-लागो भिल्ला

उनको निजी जेट बोइङ ७५७ पनि विलासी सुविधासम्पन्न छ। २०११ मा माइक्रोसफ्टका सहसँस्थापक पाउल एलेनबाट उनले किनेको सो बोइङमा २४ क्यारेटको सुनको ट्रिम, सिटबेल्ट बकल र धारा बनाइएको छ। ४३ जना बसेर यात्रा गर्न मिल्ने सो बोइङमा टिभी स्क्रिन र दुई बेडरुम पनि रहेको छ। २३९ जना बोकेर उड्ने बोइङलाई मोडिफाई गरिएको जहाजको बाहिरपट्टिट ‘ट्रम्प’ लेखिएको छ।

ट्रम्पको निजी बोइङ

त्यसैगरी एक अर्को जेट, तीन हेलिकप्टर पनि ट्रम्पसँग छ। उनी प्रायः लिमोजिन चढेर हिँड्छन्।

सबैभन्दा धनी राष्ट्रपति

फोर्ब्स र अन्य सम्पत्ति मूल्यांकन गर्ने म्यागजिन तथा सँस्थाहरुले डोनाल्ड ट्रम्पको सम्पत्ति उनले भनेजति नरहेको बताइरहे पनि ट्रम्प अमेरिकाकै सबैभन्दा धनी राष्ट्रपति बन्ने कुरामा चाहिँ कुनै विवाद छैन। वर्तमान राष्ट्रपति बाराक ओबामाको कूल सम्पत्ति ७० लाख हुँदा जोन एफ केनेडीको कूल सम्पत्ति १ अर्ब थियो। त्यसैले केनेडी अहिलेसम्मका लागि सबैभन्दा धनी अमेरिकी राष्ट्रपति मानिन्थे। ट्रम्प निर्वाचित भएपछि उनको सम्पत्ति ३.७ अर्ब नै भए पनि उनी सबैभन्दा धनी अमेरिकी राष्ट्रपति बन्नेछन्।

एजेन्सीहरुको र नेपाल खबर अनलाइनको सहयोगमा

प्रकाशित : २ माघ २०७३, आईतवार ०१:५३