क्यान इन्फोटेक तेश्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

क्यान इन्फोटेक तेश्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो



काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको तेश्रो दिन खराब मौसमका वाबजुद अहिल्लो २ दिनको तुलनामा अवलोकनकर्ताको आकर्षण बढ्दो रहेको छ ।

विगतका इन्फोटेकहरूमा कम्प्युटर, ल्यापटप, मोबाइल र अन्य आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य भीड देखिने गरेको भए पनि यो इन्फोटेकमा आईसीटी एक्सेसेरिजका स्टलभन्दा ब्राण्डिङ, फिनटेक, स्टार्टअप, इन्नोभेसन तथा प्रडक्ट लञ्चिङमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ ।

विशेषगरी शुक्रबार आईएमई–पे, सनवे कलेज, भायानेट, वर्लर्डलिंक, नमस्ते–पे, एससीटी स्मार्ट क्यूआर, डिशहोम फाइबर नेट, नेपाल क्लियरिङ हाउस (एनसीएलएल) र सफ्टवेरिका कलेजका स्टलहरूमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति थियो। त्यस्तै सनराइज बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकका स्टलमा पनि अवलोकनकर्ताको भीड लागेको छ ।

क्यान इन्फोटेकको २७ औं संस्करणको प्रमुख प्रायोजक आईएमई–पेले आफ्नो स्टलमा निशुल्क भिसा कार्ड उपलब्ध गराउनुका साथै आईएमई–पे वालेटमा भएको ब्यालेन्समा वार्षिक ६ प्रतिशत ब्याज पनि दिने ब्यबस्था गरेका कारण अवलोकनकर्ताको आकर्षण देखिएको हो । यसैगरी क्यान इन्फोटेकको इन्नोभेसन पार्टन सफ्टवेरिका कलेजले आफ्नो स्टलमा आफ्ना विद्यार्थीहरुद्वारा निर्मित सेन्सेरमा आधारित इन्नोभेसनहरु राखेका कारण अवलोकनकर्ताको भिड देखिन्थ्यो ।

क्यान इन्फोटेक शुरु भएका दिन देखिनै वर्षाका कारण प्रदर्शनीमा अवरोध भए पनि नेपाल सरकार एवं निजि क्षेत्रका उच्च पदस्थ कर्मचारी, कलाकार एवं सर्बसाधारणको प्रदर्शनीमा चासो देखिएको छ । शुक्रवार कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेतले भृकुटीमण्डपमा क्यान इन्फोटेक अवलोकन गर्दै विगत २७ वर्षदेखि क्यान महासंघले नेपालका सुचना तथा संचार प्रविधि सम्बन्धि ब्यबसायीहरुलाई प्लाटफर्म उपलब्ध गराउंदै देशको सुचना तथा संचार प्रविधिको विकाशमा पुर्याएको योगदानको प्रसंशा गरे ।

‘विगतमा धेरै मानिसहरू सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोडिनुभएको थिएन । त्यतिबेला सामान्यतः आईसीटी एक्सेसेरिज कस्तो आकार वा प्रकारमा आयो र कति सस्तो वा महङ्गो भयो भन्नेमा मात्रै उहाँहरूको चासो हुने गर्दथ्यो,’ आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले भने, ‘यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक छ ।

आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शन गरिएका छन् । यसले एक्सेसेरिज खरीदमा भन्दा प्रविधिको प्रयोगले कसरी जीवन सहज हुन्छ भन्ने ज्ञान लिन मानिसहरू उत्सुक भएको मैले पाएको छु ।’ खासगरी कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ ।

यो पटकको इन्फोटेकमा वर्षाले बारम्बार अवरोध पुर्याएको उल्लेख गर्दै क्यान महासंघका महासचिव नारायण थापाले देशको संघिय राजधानीमा निजि क्षेत्रले वर्षौंदेखि स्थायी संरचना सहित अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रदर्शनी हलको ब्यबस्था गर्न संघिय एवं स्थानिय सरकारलाई अनुरोध गर्दा पनि सम्बन्धित सरकारहरुवाट बेवास्ता गरिएको बताए ।

वर्षौं अगाडी छिमेकि राष्ट्र भारतले बनाइदिएको प्रदर्शनी हल आवश्यकता अनुरुप मर्मत नगरिएको, प्रदर्शनी हल तथा बाहिरको खुला स्थानको भाडादर महंगो रहेको तथा ती स्थानहरुमा प्रदर्शनीका निम्ति अस्थायी संरचना बनाउनु खर्चिलो तथा झन्झटिलो रहेको बताउंदै भृकुटीमण्डपमा रहेको स्थान निजि क्षेत्रलाई प्रदर्शनी र सम्मेलन केन्द्रको निम्ति निस्चित समयका लागी दिइनुपर्ने महासचिव थापाले बताए ।

फ्रान्सको उच्चस्तरीय प्राइमेसी -२ कार्ड प्रिन्टर नेपालमा

फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी -२ कार्ड प्रिन्टर भृकुटीमण्डपमा भइरहेको क्यान इन्फोटेक २०२२ मा आयोजित कार्यक्रमवाट विक्रिको सुरुवात गरिएको छ। शुरुवाती कार्यक्रममा क्यान महासंघका प्रतिनिधि लगायत सुचना प्रविधि सम्बन्धि विभिन्न कम्पनीका प्रतिनिधीहरुको उपस्थिति थियो।

बारकोड नेपालले उक्त कम्पनीका उत्पादनहरू सन् २००८ बाटै नेपालमा बिक्री वितरण गर्दै आएको छ। हालै बिक्रीमा ल्याएको प्राइमेसी -२ कार्ड प्रिन्टरबाट मध्यम र ठुला कार्यालयहरूको आइडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिने बताइएको छ । यसले प्रतिघण्टा २ सय ८० वटा रङ्गिन कार्ड छाप्न सक्ने तथा यस प्रिन्टर मा युभी प्रिन्टिङ, रि-राइटेबल कार्ड प्रिन्टिङ, डबल ले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको एवं यसमा एक सय वटा कार्ड राख्न मिल्ने ठुलो हुपर राखिएको बताइएको छ ।

प्राइमेसी -२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिने, यस सेरिजमा बैंकिंग कार्डहरू छाप्न आवश्यपर्ने इन्कोडरहरु जडान गर्न मिल्ने गरी डिजाइन गरिएको तथा नेपालमा विभिन्न बैङ्क, सरकारी आयोगहरू, सरकारी कार्यालयहरू लगायत स्कुल, कलेज, अस्पतालहरूमा प्रयोग भइरहेको बताइएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार २१:३०