सहकारीमार्फत देशलाई समृद्ध बनाउन युवाहरु तयार छन, राज्यले लगानी गरोस: सागर ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

सहकारी

सहकारीमार्फत देशलाई समृद्ध बनाउन युवाहरु तयार छन, राज्यले लगानी गरोस: सागर ढकाल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको प्रमुख साझेदार भएकाले यसका लागि युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । नेपालमा कुल जनसंख्याको एक तिहाइ संख्या युवाहरु रहेकाले युवा मुलुकको विकासका लागि युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेशनल युथ फोरममा आफ्नो धारणा राख्दै संयोजक ढकालले नीतिकत तहमा युवाहरुलाई विभेद गरेकाले संविधानले दिएको व्यवस्थालाई कार्यान्वयन गर्र्नुपर्ने बताए । उनले भने,‘युवाहरुमा राष्ट्र निर्माण गर्ने जोश छ, शक्ति छ, दृष्टिकोण छ । त्यसैले राष्ट्र समृद्धिका लागि युवाहरुलाई अवसर दिनुपर्छ ।’

उनले नेपालको बेरोजगार युवाशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिन नसकेको जनाउँदै युवाहरुलाइ स्वदेशमै उद्यमशिलता विकासतर्फ आकर्षित ध्यानाकर्षण गराए । युवाहरुलाई उद्यमशिलतामा तिर्खा जगाउन गोष्ठीको आयोजना गरिएको बताउदै उनले सरकारले नीतिगत तहमा सुधार गर्नुपर्ने पनि औंल्याए ।

संयोजक ढकालले सबै युवालाई समान रुपममा अवसर प्रदान गर्नुपर्ने बताउँदै समुदायहरूमा युवा नेतृत्व बृद्धि गर्नका लागि सहकारीको योगदान रहने उल्लेख गरे ।जसरी महिला नेतृत्वमा सहकारीको योगदान रहेको छ त्यसरी नै युवा सशक्तिकरण, उनीहरुको कार्यलाई प्रोत्साहन र समर्थन गर्ने, साझेदारीलाइ बढवा दिने र युवाहरुको पहिचानको सुनिश्चिता गर्ने उद्देश्यले युवाको भूमिकालाई प्रोत्साहित गर्र्नुपर्ने बताए ।

उनले भने,‘सहकारीले अब युवाहरूको संलग्नतालाई नीति निर्माण तहदेखि कार्यन्वयन तहसम्म बृद्धि गर्नुपर्छ । बैंकहरुले पनि युवाहरुमा लगानी गर्नसक्नुपर्छ । सहकारी मोडलबाट देशको विकास गर्न युवाहरु तयार छन् ।’ दुई दिनसम्म चल्ने फोरममा युवा उद्यमीका सफलताका कथाहरु, विज्ञ व्यक्तित्वहरुका प्रस्तुतीहरु रहने उनले जानकारी दिए ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार १२:२७