लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रवद्र्घनमा सघाउँछु : राजदूत शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रवद्र्घनमा सघाउँछु : राजदूत शर्मा



काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय प्रवद्र्घनमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई भारतमा प्रवद्र्घन गर्ने उनले बताएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको वधाइ तथा शुभकामना कार्यक्रममा आफुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने उनले बताए छन् । लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने भन्दै उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए ।

नेपालसँग भारतको र भारतसँग नेपालको सम्बन्ध एकदमै प्रगाढ रहेको भन्दै उनले भने –“चाहे व्यापारको कुरा गरौ, आयात निर्यातकै पनि कुरा गरौं । झण्डै कुल व्यापारमा दुई तिहाई भारतमै हुने गरेको छ । निर्यातमा पनि सोयाबिन तेल, पाम तेलले गर्दा झण्डै ७५ प्रतिशत भारतमा हुने गरेको छ ।”महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले अन्तराष्ट्रियस्तरमा नेपालको इकोनोमिक डिप्लोमेसी भनेको अहिलेसम्म दूतावासको भित्तामा नेपाली वस्तुमा टुङ्गिने गरेको पाइएको र भारतमा पनि त्यस्तै पाइएको बताए ।

महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरुको निर्यात प्रवद्र्धनका लागि राजदूत शर्माले आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी, सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, महासंघअन्तरगत महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १३ चैत्र २०७८, आईतवार १७:००