छुटको फाइदा उठाउँदै ४० हजार कम्पनीले गरे नवीकरण, ९५ करोड राजस्व सङ्कलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

छुटको फाइदा उठाउँदै ४० हजार कम्पनीले गरे नवीकरण, ९५ करोड राजस्व सङ्कलन



काठमाडौं । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण गराएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न पाउने व्यवस्था गरेसँगै ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण गराएका हुन् ।

सरकारले कम्पनी ऐन–२०६३ तथा प्राइभेट रजिस्ट्रेसन ऐन–२०१४ अनुसार आर्थिक वर्ष २०७५र७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले विसं २०७८ पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिएको थियो ।

सरकारले नवीकरण दस्तुरमा छुट दिएसँगै नयाँ दर्ता तथा विवरण अद्यावधिक गराउने उद्योगको सङ्ख्यामा समेत वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्म १५ हजार कम्पनी दर्ता तथा अद्यावधिक भएकोमा हाल १६ हजार ४०० बढी कम्पनी दर्ता भएका छन् ।

कार्यालयका अनुसार गत वर्ष नयाँ कम्पनी दर्ता तथा विवरण अद्यावधिक गर्दा रु ९८ करोड राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै रु ९५ करोड राजस्व सङ्कलन भइसकेको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार १५:०५