रुपन्देही। रुपन्देहीको सैनासैना–८, बासगढीमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्थाले कृषकलाई व्यवसायीक बनाउने याेजनालाई प्रथामिकतामा राखेको छ । आफ्नो कार्य क्षेत्र भित्र रहेका सदस्यहरुलाई रोजगारीका लागि अन्यन्त्र भाैतारिनु पर्ने बाध्यता अन्त्य गर्नको लागि संस्था आधुनिक कृषिका कार्यक्रमलाई प्रथामिकता दिएर कार्य गर्दै आएको हो ।
बचत ऋणको कार्यक्रमसंगै संस्थालाई आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनु नै मुल उद्देश्य रहेको संस्थाका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिए । कृषकका उत्पादनको बजारीकरण सुनिश्चित गर्न सके रोजगारी वृद्धि हुने र कामको खोजीमा सदस्यहरुले भौंतारिनु नपर्ने उनको विश्वास छ ।
प्रदेश सरकारसँगको साझेदारीमा केरा कटेज
संस्थाले प्रदेश सरकारसँगको साझेदारीमा ४२ लाख लगानीमा केरा खेती शुरु गर्नुका साथै केरा कटेज समेत निर्माण गरेको छ । गत वर्षदेखि संस्थाले ३ बिगाहा क्षेत्रफलमा केरा खेती लगाएको र कमजोर आर्थिक स्थिति भएका सदस्यहरुलाई दैनिक रोजगार दिँदै आएको अध्यक्ष गोपाल भण्डारीले जानकारी दिए । केरा खेतीमा सिजनमा चालीसपचास जना र अन्य समयमा पनि दैनिक पाँच देखि छ जनाले काम पाउने गरेका छन् ।
केरा खेतीलाई अझै विस्तार गर्ने र मम, चिप्स, जुस, अचार जस्ता थुप्रै परिकारहरु केराबाटै उत्पादन गर्ने योजना संस्थाको रहेको भण्डारीले सुनाए । अहिले बजारमा केराको माग अत्याधिक रहेको र केरा लगाएको १६ महिनापछि फल दिने हुँदा त्यसबाट राम्रो लाभ लिन सकिने उनको बिश्वास छ । एक पटक लगाएको केराको बोटबाट छ वर्षसम्म फल लिन सकिने उनले सुनाए ।
३५ हजारसम्म निर्ब्याजी ऋण
सहकारी संस्थामा आवद्ध रहेका करिब २५०० सदस्यलाई कुनै न कुनै व्यवसायमा जोडी सबल बनाउनु नै मुल योजना रहेको अध्यक्ष भण्डारी बताउँछन् । संस्थाले नगदे बाली र बेमौसमी तरकारी खेती गर्न चाहने सदस्यलाई ३ महिना अवधिका लागि ३५ हजारसम्म निर्ब्याजी ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाका सदस्य रेवीलाल न्यौपानेले ८÷९ कठ्ठामा आलुखेती गर्दै आएका छन् । उनलाई आलु खेतीका लागि आवश्यक पर्ने पुँजी तथा बीउ संस्थाले सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ । उनले उत्पादन गरेको आलु बीउको रुपमा विक्री हुने गर्छ । ७०/०७१ सालबाट ३५ हजार निर्ब्याजी ऋण लिएर आलुखेती सुरु बताए । उनले वार्षिक ३ लाखसम्म आम्दानी गरेको सुनाए । आलु खेतीबाट राम्रो लाभ लिन सक्ने भएपनि त्यस भेगमा कोल्डस्टोर नहुँदा बीउका लागि आलु सञ्चित गर्न भैरहवा लैजानु पर्ने बाध्यता रहेको उनले सुनाए ।
संस्थाका व्यवस्थापक मुकुन्द पराजुलीले रुपन्देही भर कार्यक्षेत्र लिएर २०५९ सालमा २५ हजार शेयरपुँजीबाट शुरु गरिएको संस्थामा हाल पच्चीस सय सदस्य, ३ करोड शेयरपुँजी र १३ करोड लगानी पुगेको बताए । संस्थाले आफ्नै भवन समेत निर्माण गरेको छ । संस्थाले सदस्यका लागि एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको छ भने महिला शेयर सदस्यहरुलाई सुत्केरी हुँदा पोषण खर्च, मृत्यु राहत स्वरुप काजकिरिया खर्च, ज्येष्ठ नागरिकहरुलाई वार्षिक रुपमा पेन्सन जस्ता थुप्रै सुविधा प्रदान गर्दै आएको छ ।
यस्तै बर्षमा १ पटक शेयर सदस्यलाई कृषि तालिमको ब्यवस्था मिलाउने योजनामा सस्था रहेको व्यवस्थापक पराजुलीले सुनाए । आउदा दिनमा शेयर सदस्यले ५ कठ्ठामा लसुन र प्याज खेति गर्न चाहेको खण्डमा संस्थाबाट ३ महिनाको लागि निःशुल्क ब्याजमा २५००० सम्म सहुलियत ऋण उपलब्ध गराइराइने पराजुलीले बताए । यस्तै संस्थाले एक व्यक्ती एक सहकारीको नितिलाई अनिवार्य रुपमा अवलम्बन गर्ने उनले बताए ।
सदस्यको घरमा सामाजिक क्रियाकलाप, विवाह, ब्रतबन्ध, पुजाआजा हुँदा अर्को सदस्यले उत्पादन गरेको वस्तु खरिद गराई स्वयं सदस्यहरुलाई नै लाभान्वित बनाउने संस्थाको लक्ष्य छ । त्यसैगरी संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने बीउबीजन, मलखाद र भण्डारण केन्द्र समेत स्थापना गरी सेवा दिँदै आएको छ ।
Comment