प्रचण्डको अभिव्यक्तिले पुँजी बजारमा हलचल, विवेकशीलको आक्रोश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रचण्डको अभिव्यक्तिले पुँजी बजारमा हलचल, विवेकशीलको आक्रोश



काठमाडौं । विवेकशील साझा पार्टीले माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजी बजारबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्रचण्डले हालै ‘धितोपत्र बोर्डः साम्राज्यवादको विकसित रूप’ भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको उक्त पार्टीले ठहर गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै विवेकशीलले अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको अभिव्यक्ति आपत्तिजनक भनेको छ।

‘पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घपुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ ।

पुँजी बजार बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ। यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेकाले धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टीले माग गरेको छ । 

प्रकाशित : २७ मंसिर २०७८, सोमबार २०:३७