बैंकिङ्ग क्षेत्रमा नयाँ अभ्यासः कामना सेवा विकास बैंकले शुरु गर्यो दृष्टि जगेर्ना अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

बैंकिङ्ग क्षेत्रमा नयाँ अभ्यासः कामना सेवा विकास बैंकले शुरु गर्यो दृष्टि जगेर्ना अभियान



काठमाडौँ । कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । बैंकले ग्राहकहरूको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौं’ भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरू लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ दृष्टि जगेर्ना अभियानको सेवा शुभारम्भ गरेको हो ।

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहका बीच उक्त सुविधाको शुभारम्भ गरेका हुन् ।

बैंकका अनुसार यस अभियानमा छोटो दूरी वा लामो दूरीको दृष्टि नदेख्ने समस्या भएका ब्यक्तिहरूका लागि बैंकका शाखाहरुमा चस्मा राखिएको हुन्छ । उक्त चस्मा यूनीफोकल ग्लास भएकाले प्राय ४० वर्ष माथिका व्यक्तिहरूले प्रयोग गर्न सक्ने छन्।

कहिले काँही ग्राहकहरूले आफ्नो चस्मा बिर्सेर बैंकमा आउँदा लेख्न वा हेर्न समस्या नहोस् भन्ने हेतुले बैंकका सबै शाखामा चस्माको व्यवस्था गरिएको हो । हाल यो सेवा बैंकको काठमाडाै उपत्यकाका सबै शाखमा यो सेवा पाउने छन् । बिस्तारै बैंकले यो सेवा उपत्यका बाहिर पनि सञ्चालन गर्ने छ ।

कार्यक्रममा नेपाल आँखा अस्पतालका सिनियर हेल्थ एजुकेटर विमल पौड्यालले धेरै ब्यक्तिहरू बैंकमा आउँदा चस्मा लिएर नआउने वा बिस्रेर आउने र हस्ताक्षर बिग्रिने समस्या धेरै हुने भएकाले चस्मा प्रयोगले सहजता ल्याउने बताए ।

बैंकहरूमा ग्राहकहरूले भौचर भर्ने ठाउँमा वा चेक काट्दा चस्माको सहयोग लिन सक्ने उनको भनाई छ । कामना सेवा विकास बैंकले शुरु गर्दा खुशी लागेको उनले बताए ।

ग्राहकलाई सेवा सुविधामा कसरी सहजता गर्न सकिन्छ भन्ने बैंकको सोचाइ अनुरुप शाखा कार्यालयमा चस्मा राख्दा पनि धेरै सुविधा पुग्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन बस्नेतले बताए।

चस्मामा कुनै समस्या देखियो भने तत्काल रिप्लेसमेन्टको व्यवस्था गरिने उनको भनाई छ । कामना सेवाका विकास बैंक अहिले धेरै अगाडि बढिसकेको र भिजन २०–२८ को धेरै नजिक पुगेको उनी बताउँछन् ।

विद्यालय जाने विद्यार्थीहरूलाई बढी होमवर्क गर्ने, अन्य खेलकुद नखेलेर भिडियो गेम खेल्ने, मोबाइल फोन, ल्यापटप लगायतका स्क्रिन प्रयोग गर्ने व्यक्तिहरूमा आँखाको समस्या धेरै देखिने भएकाले समयमा नै सचेत हुनुपर्ने नेपाल आँखा अस्पतालका अध्यक्ष तथा बरिष्ठ आँखा रोग विशेषज्ञ डा. गोपाल प्रसाद पोखरेलले बताए ।

कामना सेवा विकास बैंकले धेरै नयाँ कुराको सुरुवात गरेको बैंकका अध्यक्ष सुदिप आर्चायले बताए । हेर्दाखेरि स–साना कुराहरु भएपनि तर यसको धेरै महत्व रहेको उनी बताउँछन् ।

विश्व दृष्टि दिवस हरेक वर्षको अक्टोबर दोस्रो बिहीबार पर्छ । सोही अनुसार यस वर्षको विश्व दृष्टि दिवस अक्टोबर १४ तारिखमा मनाईनेछ ।

विश्व स्वास्थ्य संघले ‘आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ यस वर्षको आँखा दिवस मनाउने भएको छ । सोही अवसरमा नेपाल आँखा अस्पतालको सहकार्यमा कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान शुरु गरेको हो । बैंकिङ्ग क्षेत्रमा नयाँ अभ्यास सहित कामना सेवा विकास बैंकले यस्तो सेवा शुरु गरेको हो ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार १२:५१