टाठाबाठालाई कृषि अनुदान, वास्तविक कृषकमा पुग्दैन सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

टाठाबाठालाई कृषि अनुदान, वास्तविक कृषकमा पुग्दैन सूचना



सिन्धुली । गोलन्जोर गाउँपालिका–६ ग्वाल्टारका खेमबहादुर बस्नेत दुई वर्षदेखि तरकारी खेती गरिरहेका छन् । रोजगारीका लागि तीन वर्ष कतार बसेर फर्किएका बस्नेत आफ्नै ठाउँमा केही गरौँ भन्ने लागेर कृषि पेसामा लागेका हुन् । उनले पालिकाबाट कृषिमा कुनै अनुदान नपाएको गुनासो गरे ।

गोलन्जोर गाउँपालिकाले कृषिको क्षेत्रमा वर्षेनी करोडौँ बजेट विनिजियोजन गरिरहेको छ । कतिपय व्यवसाय गर्न चाहनेहरूलाई पनि अनुदान दिने गरेको गाउँपालिकाले जनाएको छ । तर पनि खेमले भने अहिलेसम्म विउविजन, औजार केहीमा पनि अनुदान नपाएको गुनासो गरे । उनले झण्डै ४ रोपनी जग्गामा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । अनुदानका कार्यक्रममा फारम भरे पनि आफू छनोट नभएकाले अनुदान पनि पहुँच हुनेहरूले मात्र पाउने रहेछन् भन्ने लागेको बस्नेतले सुनाए ।

‘पालिकाले दिने अनुदानमा पनि चिनजान र आफ्ना मान्छे चाहिने रहेछ । हामी जस्ता कोही नचिनेकोले त नपाउने रहेछौँ,’ उनले भने, ‘वास्तविक कृषकहरूले भन्दा पनि यहाँ अधिकांश गैर कृषकले अनुदान पाइरहेका छन् । नाम नभनौ तर मेरै ठाउँका पनि चार जनाले व्यवसाय नै नगरी अनुदान पाइरहेका छन् ।’ स्वदेशमै स्वरोजगार बन्न चाहनेहरूलाई सरकारले प्रोत्साहनस्वरुप विभिन्न शिर्षकमा अनुदान दिन्छ भन्ने कुरा बस्नेतलाई झुटो लाग्न थालेको छ ।

व्यवसाय गरिरहेकाहरूलाई विदेश पलायन हुने वातावरण स्थानीय सरकारले नै सृजना गराइरहेको उनले बताए । बस्नेतले भने, ‘आफ्नो ठाउँमा कामको मूल्याङन नहुने भएपछि फेरि खाडी नै जाउँ जस्तो लाग्न थालेको छ ।’

सोही ठाउँमा तरकारी खेती गर्दै आएका हर्कबहादुर आले मगरले पनि गाउँपालिकाबाट कुनै अनुदान नपाएको गुनासो गरे । दुई वर्षदेखि तरकारी खेती गर्दै आएका मगरले हालसम्म गाउँपालिकाबाट कुनै सहयोग नपाएको बताए । ‘दुई वर्ष भयो तरकारी खेती सुरु गरेको । गाउँपालिकाले करोडौं पैसा कृषिको क्षेत्रमा छुट्टाएको छ । खै कहाँ कस्ले त्यो पैसा पाउँछ थाहा नै हुन्न,’ उनले भने, ‘आफ्नो मान्छे छानेर अनुदान दिरहेका हुन्छन् ।

हामीले अहिलेसम्म एक पैसा पाएका छौनौँ ।’ सुनकोशी गाउँपालिकाकी यशोधा कार्कीले पनि झण्डै २ रोपनी जग्गामा तरकारी खेती गरिरहेकी छन् । उनलाई त झन् पालिकाले कृषकहरूलाई अनुदान दिन्छ भन्ने नै थाहा छैन । यशोधा अचम्मित हुदै भन्छिन्, ‘व्यवसाय गर्नेहरूलाई सरकारले अनुदान पनि दिन्छ है ! आफूलाई के थाहा । यतिका वर्ष व्यवसाय गरियो । तर मलाई त कसैले भनेन् ।’ यशोधाले तरकारी खेती गरेकोे झण्डै ३ वर्ष हुन लाग्यो । उनले बन्दा, सिमी, बोडी, लौका, फर्सी, भ्यान्टा, स्कुस, खुर्सानी, टमाटर, कांक्रो, करेला, लसुन, प्याज, धनिया, सागलगायतको मौसमी तरकारी लगाइकी छन् ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार ११:२५