एमालेको नाराबाजीबीच पारित भयो बजेट, अर्काे बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एमालेको नाराबाजीबीच पारित भयो बजेट, अर्काे बैठक



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबाजीले निरन्तरता पाइरहेको छ ।

गत २३ भदौबाट सुरु भएको एमाले सांसदहरूको नाराबाजीले सोमबार बसेको बैठकसम्म निरन्तरता पाइसकेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न पेस गरिएको विधेयक पारित गराएका छन् ।

सुरुवाती बैठकमा आक्रमक रूपमा प्रस्तुत भएको एमाले सांसदहरू पछिल्लो समय नाराबाजीमा मात्र सीमित भए । तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुखले कार्यसूचीअनुसार बैठक चलाए ।

सोमबार पनि एमाले सांसदहरूको नाराबाजी भइरहँदा बैठकमा राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाइएको थियो भने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाइएको उक्त विधेयक राष्ट्रियसभाले पनि पारित गरेको हो । अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्याय पठाइनेछ । यसअघि दुवै सदनले पारित गरेको विनियोजन विधेयक २०७८लाई राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । यसपछि बैठक स्थगित गर्दै सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक २०७८ साल असोज १४ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १५:२४