झापाबाट मिनराजको हुँकार : सहकारी अभियानलाई कमजोर ठानेको, स्थानीय सरकारमा कसलाई पठाउने भन्ने निर्धारण गर्न सक्षम छाै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

झापाबाट मिनराजको हुँकार : सहकारी अभियानलाई कमजोर ठानेको, स्थानीय सरकारमा कसलाई पठाउने भन्ने निर्धारण गर्न सक्षम छाै



झापा । सहकारी अभियानलाई राजनीतिक दृष्टिकोणबाट कमजोर नठान्न राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले राजनीतिकर्मीलाई सुझाएका छन् । उनका अनुसार सहकारी अभियानको ऐक्यवद्धता भएमा हरेक स्थानीय सरकारमा कसलाई पठाउने भन्ने निर्धारण गर्न नेपालका सहकारी सक्षम छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को २९औं वार्षिक साधारणसभा अन्तरगत सम्पन्न माइन्युट प्रमाणित साधारणसभामा प्रमुख अतिथिको मन्तब्य राख्दै महासंघका अध्यक्ष कडेलले यस्तो धारणा राखेका हुन् ।

सहकारी अभियान अन्तरगत आफू सहभागी सबै फोरममा एनएमसीका प्रगतिका अनेकन आयामका बारेमा कुरा उठाउने गरेको सुनाउँदै उनले बहुउद्देश्यीय प्रकृतिको कारोबार गरे पनि संस्थाले पल्सको सूचांक नजिक रहेकोमा खुशी ब्यक्त गरे । केही सहकारीले गरेको बदमासीको कारण सहकारी क्षेत्रको काम कारवाहीमा प्रश्न तेर्सिने गरेको बताउँदै उनले अध्यक्ष कडेलले भने, ‘सयौंमध्ये एकाध संस्थाले गरेका कमी कमजोरीकै आधारमा समग्र सहकारीमाथि प्रश्न उठाउनु जायज हुँदैन ।’

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणित साधारणसभामा ४३ वटा इकाई साधारणसभाबाट प्राप्त करिब २०० सुझाव, टिप्पणी एवम् मागलाई एकीकृत साधारणसभामा सुनवाई गरिँदै माइन्युट प्रमाणित गरिएको हो ।

कर्यक्रमका विशेष अतिथि प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले सहकारीले व्यवसायिकता र शेयर सदस्यको पेशालाई प्रवर्धन गर्न विशेष ध्यान दिनुपर्ने बताए । उनले सहकारीहरुले बहुप्रकृतिको अनुकरणीय संस्थाको रुपमा विकास गर्न आवश्यक देखिएको बताए । रजिष्ट्रार निरौलाले एनएमसीले सामाजिक छवि बढाउन थप केही रचनात्मक कार्यहरु गर्नु आवश्यक रहेको सुझाव पनि दिए ।

बहुव्यवसाय सञ्चालन गरे पनि अझै ९६ प्रतिशत कारोबार वित्तीय क्षेत्रकै रहेको प्रष्ट्याउँदै रजिष्ट्रार निरौलाले व्यवसाय विविधिकरण गर्न र नमूना सहकारी संस्था बनाउन सुझाव दिए । एनएमसीका काम हेरेर अरु सहकारीले सिक्ने हुन् भन्दै उनले प्रत्येक सदस्यको भावनाको प्रतिनिधित्व हुनेगरी काम गर्नुपर्ने बताए । देशका ३० हजार सहकारीमध्ये ८० प्रतिशत स्थानीय सरकारले, १८ प्रतिशत प्रदेश सरकारले र बाँकी २ प्रतिशत संघीय सरकारले नियमन गरिरहेको निरौलाको भनाई छ ।

सो कार्यक्रममा प्रदेशसभाका सदस्य श्रीप्रसाद मैनालीले दुई लाख ५३ हजार शेयर पँुजीबाट सुरु गरेको एनएमसीमा आज एक अर्बभन्दा माथि पुगेकोमा खुशी व्यक्त गरेका थिए । उनले एनएमसीले नमूना एकीकृत कृषि फार्मजस्तै एनएमसीले नमूना सहकारी अस्पताल र विद्यालय सञ्चालनको अवधारणा ल्याउनु पर्ने सुझाव दिए । संस्थाकै विपन्न सदस्यका सन्तान पढाउन एक नगर, एक नमूना विद्यालय बनाउन अग्रसरता लिन सांसद मैनालीको सुझाव थियो ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले एनएमसीले आर्थिक र सामाजिक रुपान्तरणसँगै धेरै नेतृत्व जन्माएको बताइन् । एनएमसीमा रहेर विभिन्न जिम्मेवारीमा काम गरेकै कारण धेरैजनासँग चिनजान भएको र आज नगरपालिकाको उपप्रमुख बन्न उहाँहरुको साथ पाएको उपप्रमुख उप्रेतीले स्मरण गरिन् ।

उनले एनएमसीको औद्योगिक ग्रामको अवधारणालाई स्थानीय सरकार सहकार्य गर्न तयार रहेको र प्रदेश सरकारले समेत उत्सुकता देखाएको बताइन् । सहकारी र स्थानीय सरकारका कामहरु मिल्दाजुल्दा छन्, यसमा एकाकार हुन सकियो भने आयआर्जन बढाउन, किसानका उत्पादनलाई बजारीकरण गर्न तथा गरिबी न्यूनीकरण गर्न मद्दत पुग्ने उनको विश्वस छ ।

उनले एनएमसीले जस्तै अन्य सहकारीले पनि शेयर सदस्यले उत्पादन गरेका सामग्रीको बजारीकरणमा ध्यान दिनुपर्ने सुनाए ।

वडा नम्बर १४ का वडाध्यक्ष शंकर पोखरेलले एनएमसीको एकीकृत कृषि नमूना फार्मले दुहागढीलाई देशभर चिनाएको बताए । उनले भने, एनएमसीले दुहागढीको पहिचान बनायो, हामी गौरव गर्छौं । यो संस्थाबाट सरकार सञ्चालन गर्ने असल संस्कार राज्यले पनि सिक्नुपर्छ ।

संस्थाका उपाध्यक्ष भगवती घिमिरे मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष रामचन्द्र उप्रेतीले र आर्थिक प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले गरेका थिए ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार ०८:२४