महाधिवेशनको महासंग्राममा कांग्रेसः प्रक्रिया आजदेखि सुरु हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विविध

महाधिवेशनको महासंग्राममा कांग्रेसः प्रक्रिया आजदेखि सुरु हुँदै



काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो।

वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् ।

सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्ला अनुसार नै फरक फरक हुने भएको छ । अर्थात भोलीबाट २३ गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चुन्ने छ ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ । सोही अनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रबारबाट शुरु हुने भएको हो । यसअघि केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिका अनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ ।

तर केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि तलमाथि हुने भएको हो । अधिवेशन तोकिन बाँकी जिल्लामा हुने वडाको निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने गरी कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ ।

वडा अधिवेशनको अघिल्लो दिन हिजो अर्थात् बिहिबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट सभापतिका लागि एक मात्रै उम्मेदवार हुने घोषणा गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नो समर्थनलाई बलियो बनाउन सबै जिल्लामा आफू निकट केन्द्रीय नेताहरुलाई खटाउनुभएको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले १५ देखि ७५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्छ ।

यसैबीच नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा यो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ ।

अहिलेको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा वडामा यो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार ०८:०२