नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो



काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा भेरियन्ट पुष्टि भएका ४७ वटा नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन के-४१७ एन म्युटेसन फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ‚ जसलाई एवाइ.१ नाम दिइएको छ ।

‘संकलित नमूनाहरूको जिनोमिक पहिचान गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट बी.१.६१७.२ पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट बी.१.१.७ पुष्टि भएको छ‚’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ‚ ‘४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन के-४१७ एन म्युटेसन भेटिएको छ‚ जसलाई एवाइ.१ नाम दिइएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट संकलन गरिएको नमूनाको राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठन आइडेन्टिफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टिग्रेटिभ बायोलोजीमा सेक्वेन्सिङका लागि पठाइएको थियो ।

हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढि देशहरुमा पनि पुष्टि भइसकेको विज्ञप्तिमा उल्लेख छ । योसँगै नेपालमा भेरियन्ट अफ कन्सर्नको रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो भेरियन्टले सबै उमेर समूहका मानिसमा असर गर्नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ६ श्रावण २०७८, बुधबार १७:१५