नेपालका सिमेन्ट उद्योगः प्रदुषण बढाउन उद्धत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालका सिमेन्ट उद्योगः प्रदुषण बढाउन उद्धत



अध्ययन भन्छ- आवासीय क्षेत्रमा उद्योग स्थापना गर्न रोकाैं

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने अध्ययनले निष्कर्ष निकालेको छ ।

काठमाडाैं । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगहरुले प्रदुषण बढाएको एक अध्ययनले निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले अनुसार नेपालमा संचालित उद्योगहरुले वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर परेको देखाएको हो ।

सर्वेक्षणले सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

अध्ययनले विदेशी लगानी रहेको३, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २,२ गरी ७ उद्योगहरुलाई समेटेको छ ।

सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, २ जना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दाहरुलाई उत्तरदाताको रुपमा चयन गरिएको थियो ।

अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखाएको छ । यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने१५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ ।

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रोरहेको छ ।

विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ । मुलुकभित्रैसिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ ।

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने अध्ययनले निष्कर्ष निकालेको छ ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार १४:५८