उदयपुरमा सेना परिचालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विविध

उदयपुरमा सेना परिचालन



उदयपुर । उदयपुरमा कोरोना संक्रमण नियन्त्रण गर्न र जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नेपाली सेनाको मोबाइल पेट्रोलिङ टोली परिचालन गर्ने निर्णय गरिएको छ । सोमबार बसेको डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा प्रतिकार्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सेना परिचालन गर्न लागिएको उल्लेख छ । एम्बुलेन्स, शवबहान र विरामी बोकेको सवारी साधन बाहेक अन्य सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ ।

यस्तै कटारी नगरपालिकालाई पूर्ण रुपमा बन्द गर्ने, त्रियुगा नगरपालिका वडा नं. १६ र बेलका नगरपालिका ४ गुरुङ चौरीलाई सिल गरिने निर्णय गरेको छ ।
बैठकले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि स्थानीय सरकारहरुले डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कार्य गर्ने, राष्ट्रिय र यसै वर्ष सम्पन्न गर्नु पर्ने जिल्लास्तरीय ठूला आयोजनाहरुलाई मात्र निरन्तरता दिने निर्णय गरेको छ ।

यसैगरी उदयपुरका कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या पनि जटिल हुँदै गएकाले संक्रमितहरुको निगरानीको लागि सिसिटिभी क्यामरा जडान गर्ने र आवश्यक औषधी र दक्ष जनशक्तिको व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुलाई औषधी, पोषणयुक्त आहार, आयुर्वेदिक चुर्ण तथा मनोसामाजिक परामर्श दिन घरदैलो कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार १०:३९