काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७५-७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले घटेको छ । लगानी ८.८ प्रतिशतले घटेर १ खर्ब ८२ अर्ब ९२ करोड कायम रहेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९ प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।
२०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड रुपैयाँ लगानी आएको छ । दोस्रोमा चीन रहेको छ । चीनबाट २७ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको छ भने सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको देखिन्छ । सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको देखिन्छ । त्यसै गरी, औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी रहेको देखिएको छ ।
आर्थिक वर्ष २०७५-७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५÷७६’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।
Comment