चाडपर्व मनाउनेहरूका लागि मापदण्ड सार्वजनिक,यस्ता छन नियम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

चाडपर्व मनाउनेहरूका लागि मापदण्ड सार्वजनिक,यस्ता छन नियम



काठमाडौँ । सरकारले चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरूका लागि मापदण्ड सार्वजनिक गरेको जानकारी दिएको हो ।

सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ । दसैैंलगायत अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एक जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने छ ।

एउटै घरका व्यक्तिबाहेक अरूसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ । चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने छ । धार्मिक स्थल तथा मेला पर्वमा २५ जना मात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्नु छ । अँगालो मार्न वा शरीर छुन पाइने छैन ।

देवीदेवताका मूर्तिहरू नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थलमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरूले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागी नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्केरी महिला र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

यस्तै, भर्खरै सर्जरी गरेका, अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरूलाई भिडभाडमा नजानसमेत भनेको छ ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार २०:०४