एक साताका लागि अत्याश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

एक साताका लागि अत्याश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय !



गोरखा । गोरखा नगरपालिका–११ को बाह्रकिलो प्रहरी चौकी सिल गरिएको छ ।

प्रहरी चौकीमा कार्यरत २५ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । ‘संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई आइसोलेसन पठाएका छौँ,’ उनले भने,‘अन्य १२ जनालाई चौकी हाताभित्रै क्वारेन्टाइनमा राखि प्रहरी चौकी सिल ग¥यौँ ।’

प्रहरी चौकीबाट प्रवाह हुने सेवा जिल्ला प्रहरी कार्यालयबाट प्रवाह गरिने गुरुङले बताए । क्वारेन्टाइनमा रहेका प्रहरीहरुको पीसीआर परीक्षण गरिने उनले बताए ।

त्यस्तै बुधबार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरानचोक गाउँपालिकाको सेवा एक साताका लागि बन्द गरिने भएको छ ।

अत्याश्यक बाहेकका सेवा बिहीबारबाट बन्द गरिने सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । उनका अनुसार गाउँपालिकामा कार्यरत २९ वर्षीय कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि भएका पुरुषलाई गोरखा क्याम्पसको आइसोलेसन पठाउने उनले बताए ।

प्रहरी कर्मचारी र सिरानचोक गाउँपालिकाका कर्मचारीसहित बुधबार गोरखामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार २१:३४