पुँजी बजारमा समेत कोरोना छ्याप्छ्याप्ती ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

पुँजी बजारमा समेत कोरोना छ्याप्छ्याप्ती !



कोरोना सर्वत्र फैलिएपछि पुँजी बजारमा समेत छ्याप्छ्याप्ती देखिन थालेको छ । यसबीच एकपछि अर्को कम्पनीको सेयर निश्काशन (आईपीओ) र हकप्रद सेयरको सूचना सार्वजनिक भएपछि मर्चेण्ट बैंकर र दोस्रो बजारमा कारोबार गर्ने ब्रोकरहरूको कार्यालयमा बढेको भीडले कोरोना सङ्क्रमण बढाउन सहयोग पुगेको हो । नक्सालस्थित नबिल क्यापिटलका एक दर्जन कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उता, जमलस्थित नाचघरमा रहेको ग्लोबल क्यापिटलमा पनि दुईजना कर्मचारीमा कोरोना देखिएको बताइएको छ ।

ग्लोबलभन्दा एक तल्ला मुनिको सनी सेक्युरिटीजका एक जना कर्मचारीमा पनि कोरोना देखिएको छ । आधाभन्दा धेरै कर्मचारीको रिपोर्ट आइसकेको छैन । अन्य धेरैवटा क्यापिटलमा समेत कोरोना सङ्क्रमण देखिएको स्रोतको दाबी छ ।

तर, मर्चेण्ट बैंकरलगायत ब्रोकर कम्पनीको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले हालसम्म कुनै स्पष्ट निर्देशन नदिएकाले पुँजी बजारमा अन्योल बढेको अधिकांश मर्चेण्ट बैंकरले गुनासो गरेका छन् । आफूहरूले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको झैँ बोर्डको निर्देशन कुरेपनि हालसम्म कुनै जानकारी प्राप्त नभएको उनीहरू बताउछन् ।

मर्चेण्ट बैंकका कर्मचारी,ब्रोकर कार्यालय र सर्वसाधारण सबैमा सरोबरी कोरोना सङ्क्रमित देखिन थालेपछि स्थिति थप जटिल बन्नसक्नेतर्फ सचेत रहन विज्ञहरूले औंल्याएका छन् । चैतदेखिको लकडाउन र भदौको निषेधाज्ञामा पनि सर्वसाधारणले बैंकको परम्परागत सेवाभन्दा सेयर कारोबारको लागि बैंक तथा वित्तीय संस्था,मर्चेण्ट बैंक र सेक्युरिटिज ब्रोकरको कार्यालय धाउन छाडेका थिएनन् ।

अहिले पनि बजारमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ जारी गरिएको छ । यसले समेत पुँजी बजारमा अत्यधिक भीड बढाएको हुनसक्छ । तर, मूल ढोकैमा सेवाग्राही सबैलाई रोकेर आफूहरू मास्क लगाउँदै माथिल्लो तल्लामा बस्ने धितोपत्र बोर्डका जिम्मेवार हाकिमहरूले मर्चेण्ट बैंकहरूमा बढ्दै गएको कोरोना सङ्क्रमण रोकथामको लागि बेलैमा सचेत र पहल गरेको देखिँदैन ।

भोलिका दिनमा सबै सङ्क्रमणबाट सोत्तर भएर आइसोलेसनमा गएको अवस्थामा मर्चेण्ट बैंकका कर्मचारीले घरबाटै पनि काम गर्न नसक्ने अवस्था आउनसक्ने एउटा मर्चेण्ट बैंकका सीईओले बताएका छन् ।जनआस्थाबाट साभार

प्रकाशित : १४ आश्विन २०७७, बुधबार ०७:५३