६ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

६ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर सूचिकृत



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा ६ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर सूचिकृत भएको छ । २ अर्ब ९३ करोड रुपैयाँ बराबरको बोनस शेयर, २ अर्ब रुपैयाँ बराबरको डिबेन्चर र १ अर्ब २२ करोड रुपैयाँ बराबरको साधारण शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको रिपोर्ट सार्वजनिक गर्दै यो अवधिमा नेपाल धितोपत्र बोर्डले ६३ करोड ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न अनुमति दिएको जनाएको छ ।

२०७६ साउन मसान्तमा १२२४ विन्दु रहेको नेप्से सूचकाङ्क २०७७ साउनमा १३९१.५ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । २०७७ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण १८३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण१७९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, २०७७ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ५.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ साउनसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य रु.४७३ अर्ब ८८ करोड रहेको रहेको छ ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार १९:११