सहकारीलाई रजिष्ट्रारको अपिल लेखापरिक्षण गर्दै गर्नुहोस् उपयुक्त निर्देशन जारी गर्छौं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारीलाई रजिष्ट्रारको अपिल लेखापरिक्षण गर्दै गर्नुहोस् उपयुक्त निर्देशन जारी गर्छौं



काठमाडाै। नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले कोभिड महामारीको अवस्थामा सहकारीहरुको बार्षिक साधारण सभा आयोजना सम्बन्धी मस्यौदा कार्यविधि बिहिबार सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघलाई बुझाएको छ ।

नेफ्स्कूनले सबैको चासोको विषयमा सघन गृहकार्यसहित तयार पारेको ‘महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि–२०७७’ हस्तान्तरण गरेको हो ।


नेफ्स्कूनका अध्यक्ष परितोष् पौड्यालले विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे र महासंघका अध्यक्ष मीनराज कंडेललाई मस्यौदा कार्यविधि बुझाएका हुन ।

यसअघि सहकारी विभागले भदौ ५ गते परिपत्रमार्फत सहकारी संघ संस्थाहरुमा अन्तिम वार्षिक लेखा परिक्षण र साधारण सभा आयोजनाको विधि र उपायका सम्बन्धमा सरोकारवालाहरुसँग नियमित अन्तरक्रिया भइरहेको भन्दै उपयुक्त निकास सहितको निचोड सार्वजनिक गर्ने जनाएको थियो ।

कार्यपत्र बुझ्दै सहकारी विभागका रजिष्ट्रार डा. पाण्डेले साधारणसभा आयोजनाको अन्योल चिर्ने विषयमा अन्तिम निष्कर्ष निकाल्न नेफ्स्कूनले तयार पारेको कार्यविधिले सहजता हुने दाबी गरे ।

‘संघ संस्थाहरुलाई असोज २ गतेसम्म लेखापरिक्षण सक्नुस, त्यस बेलासम्म साधारण सभाका लागि उपयुक्त निर्देशन जारी गर्छौं, भनेका छौं’, रजिष्ट्रार पाण्डेले भने , ‘संस्थाले साधारण सभा नगरेपनि दण्डित नहुने अवस्था आउनुप¥यो अन्यथा जसरी पनि साधारणसभा सम्पन्न गरेको गरे । महासंघबाट पनि लिखित सुझाव प्राप्त भएको छ, दुवै अध्ययन गरेर विभाग अन्तिम टुङ्गोमा पुग्छ ।’

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानको भावना प्रतिबिम्बित हुने गरी भर्चुअल सर्वेक्षणका साथै संघको ३३ औं स्थापना दिवसको अवसरमा सदस्य संघ संस्थालाई जारी गरिएको एकीकृत मार्गनिर्देशन २०७७ मा समावेश बुँदाहरु समेतलाई मिलाएर कार्यविधि तयार पारिएको जानकारी गराए ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार ०८:०४