५० प्रतिशत यात्रु बोकेर जोर विजोर प्रणालीमा सवारी सञ्चालन गर्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

५० प्रतिशत यात्रु बोकेर जोर विजोर प्रणालीमा सवारी सञ्चालन गर्न पाइने



कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिएको छ ।

कैलालीमा लागू गरिएको निषेधाज्ञा खुकुलो भएसँगै ५० प्रतिशत यात्रु बोकेर जोर विजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको छ । साथै बजार क्षेत्रमा पनि पसलहरु खोल्न अनुमति दिइएको छ ।

प्रशासनले भीडभाड नगरी निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गरेको हो । होटल, रेस्टुरेण्टहरूले होमडेलीभरी र टेकअवे सेवा दिने गरी सञ्चालन गर्न पाइने छ ।

सेवाग्राहीको बढी भीडभाड हुने मालपोत, भूमिसुधार, नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादनबाहेक सेवा बन्द नै हुने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।

त्यस्तै बैंक वित्तीय संस्थाले आफ्नो सेवा ११ देखि २ बजेसम्म दिन पाउनेछन् । साथै सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।

यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र, सिनेमा हल, पार्टी, भोज भतेर, पार्टी प्यालेस, रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटीपार्लर, सैलुनलगायतका सेवा बन्द नै रहने छन् । मेला जात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने उनको भनाइ छ ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार २१:०९