काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । यससँगै अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने पक्का भएको छ । नेकपाले राष्ट्रियसभामा गौतमलाई पठाउने निर्णय गरेसँगै अर्थमन्त्री खतिवडा बाहिरिने पक्का भएको हो । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।
प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।
गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो ।
Comment