रेमिट्यान्स ०.५ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

रेमिट्यान्स ०.५ प्रतिशतले घट्यो



काठमाडाै । आर्थिक वर्ष २०७६/७७ मा रेमिट्यान्स आप्रवाहमा ०.५ प्रतिशतले घटेको छ । एक वर्षको अन्तरालमा मुलुकभित्र कूल ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै रेमिट्यान्स घटेको जनाएको हो । राष्ट्र बैंककाअनुसार अघिल्लो वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो । रेमिट्यान्स वैदेशिक रोजगारीमा जाने कामदारमा भर पर्छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेसँगै रेमिट्यान्समा धक्का लागेको हो ।

त्यस्तै, खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई ९ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार २१:५३