राजमार्गहरूमा आफैं पेट्रोल पम्प सञ्चालन गर्दै आयल निगम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

राजमार्गहरूमा आफैं पेट्रोल पम्प सञ्चालन गर्दै आयल निगम



काठमाडौं । आयल निगमले राजमार्गहरूमा आफैं पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले पहिलो चरणअन्तर्गत हुलाकी, महेन्द्र र मदन भण्डारी राजमार्गमा यस्ता पम्प बनाउने योजना बनाएको छ ।

सरकारको नीति तथा कार्यक्रमअन्तर्गत यी राजमार्गमा २० वटा पम्प निर्माण गरिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

‘आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा राज्यको उपस्थिति कायम गर्न र बजार नियमनमा सहजीकरण गर्न सुरक्षा निकायलगायतको सहभागितामा ट्यांकर, ट्रक खरिद गरी सञ्चालन गर्ने उल्लेख छ,’ उनले भने, ‘सोहीअनुसार यो वर्ष राजमार्गमा कम्तीमा २० वटा पम्प बनाउनेछौं ।’ पम्प निर्माणका लाागि जग्गा खरिदको गृहकार्य भइरहेको निगमले जनाएको छ ।

हाल भैरहवामा निगमको आफ्नै पेट्रोल पम्प छ । सामान्य अवस्थामा उक्त पम्पबाट डिजेल दैनिक १२ हजार र पेट्रोल करिब ६ हजार लिटर बिक्री हुने गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

‘सरकारले निगमको पम्पलाई रुचाएका छन् । त्यसैले ठुल्ठूला सहरमा उपस्थिति जनाउनुपर्छ भन्ने मान्यताले नै पम्प खोल्ने योजना बनेको छ,’ उनले भने, ‘निगमको प्रावधानअनुसार नमुना र साधारण जुन पम्प खोले पनि हुन्छ । त्यसको सूचना निकाल्न पर्दैन ।’ अत्यावश्यक वस्तुमा निगमको उपस्थिति हुनु त्यो अन्ततः राज्यकै उपस्थिति रहेको उनले दाबी गरे ।

अन्य क्षेत्रजस्तै कोभिड–१९ले निगमलाई पनि असर गरेको छ । उसले राजमार्गमा पम्पका लागि जग्गा अध्ययन अनुसन्धान गर्न सकेको छैन । ‘पम्पका लागि जग्गा कसरी खरिद गर्ने भन्ने गृहकार्य भइरहेको छ । तर उपयुक्त ठाउँ अवलोकन गर्न कोभिडले समस्या भएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘अवस्था सामान्य भएपछि जग्गा खरिदको प्रक्रिया पनि बढ्छ ।’ निगमले सञ्चालन गर्ने पम्प चौबीसै घण्टा खुल्नेछ ।कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

प्रकाशित : ६ भाद्र २०७७, शनिबार १२:३६