वाणिज्य बैंकको नाफा र लाभांश क्षमता खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वाणिज्य बैंकको नाफा र लाभांश क्षमता खुम्चियो



काठमाडौं । कोरोना महामारीबाट सृजित समस्याका कारण गत आर्थिक वर्षमा सबै वाणिज्य बैंकको नाफा र लाभांश क्षमता खुम्चिएको छ । आव २०७६/७७ को असार मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकको नाफा घट्दा शेयरधनीले प्राप्त गर्ने लाभांशसमेत घट्ने देखिएको छ ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार गत आवको मुनाफाबाट २६ वाणिज्य बैंकले औसतमा ११ दशमलव १४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ । यो अघिल्लो आवभन्दा करीब ७ दशमलव ७८ प्रतिशत कम हो । अघिल्लो आव २०७५/७६ को मुनाफाबाट २८ वाणिज्य बैंकले औसतमा १८ दशमलव ९२ प्रतिशत लाभांश वितरण गर्ने देखिएको थियो ।

सबैभन्दा बढी सम्भावित लाभांश क्षमता नबिल बैंकको छ । नबिल बैंकको गत आवमा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ ३७ हजार वितरणयोग्य नाफा रहेको छ । कम्पनीको सम्भावित लाभांश ३० दशमलव १३ प्रतिशत छ । अघिल्लो आवमा नबिलको लाभांश क्षमता ३५ दशमलव ३४ प्रतिशत थियो ।

एभरेष्ट बैंकले १९ दशमलव ६६ प्रतिशतको हाराहारीमा सम्भावित लाभांश क्षमता गरेको छ । नेपाल बैंकले गत आवको मुनाफाबाट १९ दशमलव ५९ प्रतिशत लाभांश दिन सक्ने वित्तीय विवरणमा देखिएको छ । कम्पनीको वितरणयोग्य नाफा रू.२ अर्ब २१ करोड रहेको वित्तीय विवरणमा उल्लेख छ ।

गतवर्षको वित्तीय विवरणका आधारमा स्ट्यान्डर्ड चार्टर्डको १८ दशमलव ९२ प्रतिशत, एनआईसी एशिया बैंकको १४ दशमलव ८३, हिमालयन बैंकको १३ दशमलव ९७, लाभांश दिने क्षमता छ । यस्तै, प्राइम, लक्ष्मी, नेपाल एसबीआईको लाभांश दिने क्षमता ११ प्रतिशतको हाराहारीमा छ । हालसम्म सर्वसाधारण शेयर जारी नगरेको सरकारी स्वामित्वको वाणिज्य बैंकको यस्तो क्षमता भने ११ दशमलव ५० प्रतिशत देखिएको छ । यसैगरी माछापुछ«े, प्रभु, बैंक अफ काठमाण्डू एनएमबी बैंकको लाभांश क्षमता १० प्रतिशतको हाराहारीमा छ ।

१२ दशमलव ७२ प्रतिशत सम्भावित लाभांशको क्षमता देखिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल पछिल्लो चौमासिकमा कोरोना महामारी तथा बन्दाबन्दीका कारण बैंकको हालत खस्केकाले नाफा तथा वितरणयोग्य नाफा घट्नेछ भन्ने अनुमान पहिल्यै गरिएको बताउँछन् । नेपाल बैंकर्स संघको अध्यक्षसमेत रहेका दाहाल कोरोनाले गर्दा अपेक्षा गरेअनुसार व्यवसाय गर्न नसकेको बताउँछन् । उनका अनुसार नेपाल राष्ट्र बैंकले कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थापनमा छूट दिँदा पनि बैंकको हालत खस्कँदो छ ।

‘कर्जा वर्गीकरण, नोक्सानी व्यवस्थापन छूट दिँदा नै बैंकको हालत खस्किएको छ । झन् छूट नदिएको भए बैंकको हालत कस्तो हुन्थ्यो होला,’ अध्यक्ष दाहालले अभियानसँग भने, ‘यसअघि सधैं प्रायले बैंकहरूले धेरै कमायो खाए भनेर टिप्पणी गर्थे । अहिले नाफादेखि वितरणयोग्य नाफा घटेकोबारे थाहा पाए होला ।’

एनएमबी बैंकका सीईओ सुनील केसी आपूmहरूले दिने लाभांश ठीकै भएको बताउँछन् । एनएमबीले अहिलेको अवस्थामा नेपाल राष्ट्र बैंकले भनेको भन्दा धेरै प्रोभिजनिङ (नोक्सानी व्यवस्था) गरेका कारण नाफा घटेको र यसले वितरणयोग्य नाफामा पनि कमी आएको उनको भनाइ छ ।

प्रभु बैंकका सीईओ अशोक शेरचन कोरोना लक्षित सरकारले ऋणीलाई दिएको सहुलियतले बैंकको ब्याज आम्दानी घट्दा नाफा तथा लाभांश क्षमता घटेको तर्क गर्छन् । उनका अनुसार पछिल्लो समय ऋण तिर्नेलाई ब्याजमा १० प्रतिशत छूटदेखि कर्जाको ब्याजमा २ प्रतिशत कम गर्नुपर्ने व्यवस्थाले बैंकले आम्दानी गर्न सकेन, जसको असर वित्तीय प्रतिवेदनमा देखियो । ‘चैतदेखि असारमा कर्जाको ब्याजमा छूट दिँदा एउटै बैंकको ब्याज आम्दानी करीब ४०–४५ प्रतिशत कम भयो । समग्र वाणिज्य बैंकमा करीब १० अर्ब यसैका कारण आम्दानी घट्यो । बैंकहरूको पर्फमेन्स जस्तो भए पनि मौद्रिक नीति र यसपछिका निर्देशनले गर्दा आम्दानी घटेको हो,’ उनले भने ।

जनता बैंकसँग मर्जर गरेको ग्लोबल आईएमई बैंकको लाभांश दिने क्षमता एकल अंकमा आएको छ । ग्लोबलले १ अर्ब ७३ रुपैयाँ वितरणयोग्य नाफा गर्न सफल भएको छ । यसर्थ ९ दशमलव १३ प्रतिशत लाभांश दिने क्षमता भएको जानकारी दिँदै ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकाल यति बेला बैंक मात्र नभई सबै क्षेत्रमा असर परेको बताउँछन् । ‘सबै व्यवसायलाई बचाउनुपर्ने र आफू बाँच्नुपर्ने अवस्थामा बैंकहरू छन् । यसैले पनि नाफा र यसपछि दिने लाभांश क्षमता पनि सबै बैंकको घटेको हो,’ उनले भने । कोरोनाका कारण कहिलेसम्म असर गर्ने र अझै कुन तहसम्म पुग्ने भन्ने कुरामा बैंकको आम्दानी निर्भर हुने उनको भनाइ छ ।

हालसम्मको अवस्था हेर्दा सबैभन्दा कम लाभांश क्षमता सिभिल बैंकको छ । सो बैंकको लाभांश क्षमता ३ दशमलव १५ प्रतिशत मात्र छ । सिभिल बैंकको वितरणयोग्य नाफा रू. २५ करोड २१ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीहरूले खुद नाफाबाट जगेडा कोषमा २० प्रतिशत र सामाजिक सुरक्षा कोष (सोसियल सेक्युरिटी फन्ड)मा १ प्रतिशत छुट्ट्याएपछि बाँकी रकम वितरणयोग्य नाफा (डिस्ट्रब्युटेबल प्रोफिट)को रूपमा छुट्ट्याउनुपर्नेछ । उक्त रकमबाट कम्पनीहरूले लाभांश वितरण गर्न सक्नेछन् ।आजको अभियान दैनिकबाट

प्रकाशित : ३२ श्रावण २०७७, आईतवार ०७:३६