व्यवसायी बिष्णु खत्रीको अनेक धन्दाः अस्वाभाविक सम्पत्तीमाथि छानविनको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

व्यवसायी बिष्णु खत्रीको अनेक धन्दाः अस्वाभाविक सम्पत्तीमाथि छानविनको तयारी



काठमाडौं । व्यापारी नारायण पौडेलको घरको जुवा खालबाट एक दर्जन व्यापारीसहित पक्राउ परेका बिष्णु खत्रीको सम्पतीको बारेमा प्रहरी र सम्पती शुद्धीकरण विभागले अनुसन्धान गर्ने संकेत दिएको छ ।

साउन १७ गते अपरान्ह नेकपा निकट व्यापारी नारायण पौडेलको घरको जुवा खालबाट पक्राउ परेका खत्री महाराजगञ्ज प्रहरी वृतको हिरासतमा रहेका छन् ।

जुवाको खालबाट समातिएका खत्री सहितका व्यापारीहरुको बारेमा पाएको सूचनापछि अहिले प्रहरी र सम्पती शुद्धीकरणका अधिकारीहरु थप अनुसन्धानमा जुटेको स्रोतको दावी छ । प्रहरी र सम्पती शुद्धिकरणका अधिकारीहरुले खत्रीको सम्पतीको बारेमा पाएको जानकारीले चकित बनेको बताएका छन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार खत्रीको काठमाडौं वनस्थलीको सिन्धु कोलोनीभित्र ५ रोपनीको कम्पाउण्डमा आलिसान घर छ । काठमाडौंभित्रै विभिन्न ठाउँमा सम्पती जोडेका खत्रीको आफ्नो र श्रीमतीको अतिरिक्त विभिन्न व्यक्तिको नाममा समेत सम्पती राखेको पाइएको छ । श्रीमतीको नाममा स्वयम्भू, बौद्ध र ककनीमा दर्जनौं रोपनी जग्गा समेत अनुसन्धानको क्रममा फेला परेको छ ।

न्यूरोडको रञ्जना कम्प्लेक्समा खत्रीको दुई करोड दरका ५ वटा सटर रहेको समेत अनुसन्धानमा फेला परेको छ । सम्पती शुद्धिकरण विभाग स्रोतका अनुसार खत्रीको सिन्धु विकास बैङकमा १ करोडको शेयर फेला परेको छ भने शुभश्री हाइड्रोमा ६ करोडको शेयर रहेको छ । केहि समयअघीसम्म खत्री नै सो हाइड्रोका अध्यक्ष समेत थिए ।

विगत १५ बर्षको अवधीमा खत्रीले अस्वाभाविक रुपमा आर्जन गरेको सम्पती देखेर विभागका अधिकारीहरु पनि चकित परेका छन् ।

खत्रीको दुईवटा ल्याण्डरोभर गाडी काठमाडौंका सडकमा गुडिरहेका हुन्छन् । सो गाडिसँगै डेढ करोड पर्ने टोयोटाका हाइलक्स गाडी पनि उनले चढ्दै आएका छन् ।

विगतमा रक्तचन्दको अवैध कारोवारमा समेत संलग्न रहेका खत्रीले भारतको हरियाणामा दर्ता भएको बीएमडब्लू कार पनि काठमाडौंमा चलाउँदै आएका छन् । भारतीय नम्वर प्लेटको सो गाडी भने उनले दैनिक राजस्व तिरेर चलाउँदै आएको बताइएको छ ।

खत्रीको खर्च गर्ने शैलीले पनि अधिकारीहरु आश्चर्यमा परेका छन् । सिन्धुपाल्चोकको जम्मुमा गएको पहिरोले व्यापक जनधनको क्षती भएपछि सभामुख अग्नी सापकोटा हेलिकप्टर लिएर गए। पूर्वमन्त्री तथा कांगरेस नेता मोहन बहादुर बस्नेत पनि हेलिकप्टरमा केहि राहत लिएर पुगे। लगत्तै नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा (सुवोध) सहितका केहि स्थानिय नेताहरुलाई लिएर खत्री पनि हेलिकप्टरमा त्यहाँ पुगे ।

खत्री २०७४ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्वर १को ९क०बाट प्रदेश सांसदमा उमेद्वार थिए । उनलाई तत्कालिन नेकपा एमालेका नेता अरुण नेपालले हराएका थिए । तर उद्धार र राहतमा अलग्गै र प्रतिष्पर्धी दलका नेताहरुलाई लिएर गएको देखेर स्थानिय कांग्रेसले पनि उनीमाथि प्रश्न तेस्याएका थिए।

उनले सबैले भाडा शेयर गरेर आएको भनेपनि अन्य कांग्रेस कार्यकर्ताले भने त्यो पत्याएनन् । नेकपाका सिन्धुपाल्चोकका सापकोटा परिवारसँग निकटता राख्दै आएका खत्रीलाई अहिले जुवाको मात्र नभई सम्पती शुद्धिकरणको मुद्धा नलाग्ने बनाउन सापकोटा परिवारले आश्वासन दिएको स्वयं नेकपाका स्थानिय नेताहरु बताउँछन् ।

जुवाको खालबाट पक्राउ परेका खत्री अहिले अन्य व्यापारीहरु गोवर्दन श्रेष्ठ, याम बहादुर श्रेष्ठ, नरध्वज श्रेष्ठ, राज श्रेष्ठ, सिद्धि बहादुर श्रेष्ठ, याङवा शेर्पा, अनिल लगुन, सूर्य नारायण श्रेष्ठ, छविलाल विक, सोम बहादुर श्रेष्ठ र गम्भिरदास गुभाजु सहित प्रहरी हिरासतमै छन् ।

नेकपा निकट व्यापारी समेत रहेका पौडेलका घरबाट समातिएका उनीहरुलाई रिहा गर्न सभामुख अग्नी सापकोटाको नाममा प्रहरीलाई व्यापक दवाव परिरहेको स्रोतको दावी छ । पौडेल र उनका दाजुभाई अग्नी सापकोटाका अत्यन्त निकट मानिन्छन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल उनै जुवा अड्डा चलाउने नारायणका भाइ हुन् । पौडेलका अर्का भाई बच्चु पौडेल हिमालय सीमापारको अध्यक्ष हुन् ।

प्रकाशित : २० श्रावण २०७७, मंगलवार २२:३०