नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन



काठमाडौँ । नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ । आमाशय सम्बन्धी समस्याको उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पूर्वबलाध्यक्ष रथी खड्काको आज निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । स्व खड्काको आजै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । उनीप्रति सेनाको एक टुकडीले सम्मानस्वरुप अन्तिम सलामी अर्पण गरेको थियो ।

पुर्ख्यौली घर लम्जुङ भई सेनाका विभिन्न पदमा रही ३८ वर्ष सेवा पुर्‍याएका ६९ वर्षीय खड्काका श्रीमती, एक छोरा र एक छोरी छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गरी खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो । यद्यपी, उक्त निर्णय कार्यान्वयन भएन ।

बलाध्यक्ष खड्कालाई प्रधानसेनापति बनाउने निर्णयलाई तत्कालीन १८ राजनीतिक दलको आग्रहमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले उल्टाएर प्रधानसेनापति कटुवाललाई पुर्नबहाली गरेका थिए । उक्त घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाटै राजिनामा दिएका थिए । कटुवालको बर्खास्ती र खड्कालाई प्रधानसेनापति बनाउने निर्णयसगै तत्कालील राजनीतिक घटनाले अर्कै बाटो लियो । सेनापतिले तत्कालीन सरकारको आदेश पालना नगरेको जनाउँदै तत्कालीन सरकारले नागरिक सर्वोच्चताको विषय प्रखर ढङ्गबाट उठाएको थियो ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार २१:५९