मलेशियाका भूतपूर्व प्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

मलेशियाका भूतपूर्व प्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर



क्वालालम्पुर / मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर भएका छन्।

भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा नजिब दोषी भएको ठहर गरेको हो।

उनले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू अस्वीकार गरेका थिए।

उक्त मुद्दालाई मलेशियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो।मलेशियाको वनएमडीबी नामक कोष अपचलन काण्डले विश्वभरि भएका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ।

उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन्।

कस्ताकस्ता आरोप थिए ?


मङ्गलवारका फैसलाहरू सरकारी कोषबाट तात्कालिक प्रधानमन्त्रीका निजी खाताहरूमा चार करोड २० लाख रिङ्गिट (झन्डै एक करोड अमेरिकी डलर) सारेको विषयसँग सम्बन्धित छन्।

नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए।

उनले आफूले गल्ती नगरेको बताउँदै आफ्ना आर्थिक सल्लाहकारहरूले झुक्याएको दाबी गरेका छन्। उनका अनुसार फरार भएका झो लूले उनलाई भ्रममा पारेका थिए।

झो लूलाई अमेरिका र मलेशियामा मुद्दा चलाइएकको छ। तर उनी आफू निर्दोष भएको बताउँछन्।

नजिबका वकिलहरूले उनको खातामा आएको रकम साउदी राजपरिवारबाट चन्दा आएको बताइएको तर्क गरेका थिए।

नजिबलाई प्रत्येक अभियोगका लागि १५ देखि २० वर्ष कारागार हुनसक्छ।

यसअघि नजिबले आफ्नो विपक्षमा फैसला आए पुनरावेदन गर्ने बताएका थिए।

के हो वनएमडीबी प्रकरण?


क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गरेका थिए।

तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो।

तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन्। सो कोषमा करोडौँ डलरको लेखाजोखा नभएको बताइन्छ।

सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले रजाकलाई सफाइ पनि दिएका थिए।

तर उनीविरुद्ध केही देशमा अनुसन्धान हुँदै आएको थियो।

देश छोड्न रोक र पक्राउ


दुई वर्षअघि निर्वाचनपछि उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको थियो।
त्यसअघि रजाक र उनकी पत्नी रोज्मा मान्सरसँग सम्बन्ध देखिएका स्थानहरूमा प्रहरीले छापा मारेको थियो।

प्रहरीले छापा मार्दा २७.३ करोड अमेरिकी डलर मूल्य भएका विलासिताका सामग्री र नगद भेटेको थियो।

तिनमा गरगहनाको भाग ठूलो थियो।

पछि जुलाई महिनामा उनलाई पक्राउ गरियो। बिबिसीबाट

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार १४:४३