चन्द्रप्रसाद ढकाल भन्छन् – ‘निर्वाचन सार्ने निर्णय विधान विपरीत’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चन्द्रप्रसाद ढकाल भन्छन् – ‘निर्वाचन सार्ने निर्णय विधान विपरीत’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सार्ने निर्णयमा एसोसिएट उपाध्यक्षसमेत रहेका बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्रप्रसाद ढकालले असहमति जनाएका छन् ।

ढकाल नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सार्ने महासंघको निर्णय गलत भएको बताए ।

निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु विधानविपरीत भएको ढकालले जिकिर गरे । ‘मलाई आगामी चैतमा गरे पनि खासै फरक पर्दैन, मैले भन्न खोजेको विधान अनुसार गरौँ भन्ने मात्रै हो’ उनले भने ‘कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गरेको छ, यो ठीक भएन । मलाई कखुरा खायो भन्दा पनि स्याल पल्कियो भन्ने डर भयो ।’

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न आफूले प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्य भन्दा महासंघ ठूलो भएको भन्दै आफूलाई हतोत्साही पार्न खोजेको ढकालले बताए ।

यो निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको उनले टिप्पणी गरे । चुनावी नतिजाको आंकलन गरेर निर्वाचन स्थगित गरिएको ढकालले दावी गरे ।

ढकाल समूहको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्‍डीराज ढकाल र पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार पनि सहभागी थिए ।महासंघको चुनाव साउन २६ र २७ गतेका लागि तोकिएको थियो । तर बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिमको कारण देखाउँदै निर्वाचन स्थगितको निर्णय गरेको थियो ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार १५:०२