काठमाडौं । यातायात व्यवसायीहरु भोलिबाट सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन्। केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले आफ्ना धेरै माग सम्बोधन गरिसकेको बताएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार रहेको बताएका छन।
आइतबार यातायात व्यवस्था विभागमा अधिकारीहरुसँग छलफलपछि सोमबारबाटै यातायात सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका हुन।
सरकारले ५० प्रतिशत बढि भाडा लिएर सुरक्षाका मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ।
मन्त्रिपरिषद बैठकले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा असुन्तुष्ट व्यवसायीहरुले विभिन्न माग राख्दै आएका थिए।
व्यवसायीहरुको माग मौद्रिक नीतिमार्फत सम्बोधन भएपछि सोमबारबाट यातायात सञ्चालन गर्न सहमत भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
कोरोना संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न विभागले अपील समेत गरेको छ। अहिले जिल्ला भित्र मात्रै यातायात सञ्चालन हुनेछन्।
सरकारको अनुमतिसँगै यसअघि साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायात र मयुर यातायातले सेवा सूचारु गरिसकेका छन्।
माइक्रो र टेम्पुहरु समेत सञ्चालन भइरहेका छन्। असन्तुष्ट रहेका व्यवसायीहरु समेत अब आफ्नो सेवा सूचारु गर्न सहमत भएका हुन।
Comment