कोभिड् १९ महामारीकाबिच भियतनाममा खुल्यो सुनको होटल , एक रातको कति पर्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कोभिड् १९ महामारीकाबिच भियतनाममा खुल्यो सुनको होटल , एक रातको कति पर्छ ?



काठमाडौं । आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र यो बेला कोरोना भाइरस (कोभिड्१९)को कारण थला परेको छ । महामारीका कारण थलापरेको पर्यटन व्यवसाय उकास्न ब्यवसायीहरुले नयाँ नयाँ योजनाहरुलाई बिस्तारै पस्कन थालेका छन् । यसको उदाहरण बनेको छ भियतनाममा भर्खरै खुलेको एउटा होटल । यो होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ ।

विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेका बेला भियतनामको राजधानी हनोइमा सुनै सुनले भरिएको होटल संचालनमा आएको छ ।

अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण होटल निकै आकर्षित देखिएको छ । सुनैसुनले भरिएको उक्त होटल विश्वकै पहिलो भएको अनुमान गरिएको छ ।

होटलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट मात्र होइन खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुनले लेपन गरिएको छ । ‘डोल्से हनोइ गोल्डेन लेक’ नाम दिएको फाइभ स्टार उक्त होटल २५ तले भवनमा छ । चार सयवटा कोठाहरू रहेका छन् ।

बेडरूमका फर्निचर, वासरुम, बाथटब, सिंक तथा सावरलगायतका सबै सामानहरू सुनले लेपन गरिएको छ । सन् २००९ बाट निर्माण सुरु भएको होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

कर्मचारीहरुको पोसाक समेत रातो तथा सुनौलो रङको छ । जुन निकै आकर्षक र रंगिन देखिएको छ । होटलमा एक रात विताउन ३२ हजार रुपैयाँ देखि ७ लाख ३२ हजार रुपैयाँ तिर्नुपर्छ । होटलमा विभिन्न ६ खाले कोठा र बेडरुम सुइट छन् । (एजेन्सी)

प्रकाशित : २९ असार २०७७, सोमबार १४:४९