काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक क्रियाकलाप सबैभन्दा बढी हुने समयमा कोरोनाले प्रभाव पारेको भन्दै बताउदै लकडाउन खुकुलो भएसँगै अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको दावी गरे ।
सरकारी राजस्व र खर्चमा केही सकुंचन आए पनि क्रमशः त्यसले आफ्नो लय समात्न थालेको उनको भनाइ छ । वैदेशिक व्यापार र राजस्व संकलनमा ८० प्रतिशत सुधार देखिएको अर्थमन्त्री खतिवडाले बताए ।
सोमबार नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई भिडियो सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले जेठ महिनामा भित्रिएको १ खर्ब हाराहारी रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती र बैंकमा पर्याप्त तरलता प्रदान गरेको पनि बताए ।
पछिल्लो समय विदेशबाट नेपाली कामदारको माग बढेको र नेपाली युवा पनि जान इच्छुक देखिएपछि सुरक्षा प्रबन्ध अपनाएर पठाउन थालिएको उनले जानकारी दिए । अर्थमन्त्री डा. खतिवडाले बैंकको ब्याजदरसमेत अब घट्ने बताए । मौद्रिक नीतिबाट यससम्बन्धी व्यवस्था गर्ने उनले संकेत गरे ।
Comment