मन्त्री अर्याल सहकारी विभागमा, विदेशबाट फर्किएकालाई सहकारीमार्फत रोजगारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

सहकारी

मन्त्री अर्याल सहकारी विभागमा, विदेशबाट फर्किएकालाई सहकारीमार्फत रोजगारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गरेकी छन ।

त्यस अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेतृत्वमा भएको बेला केही नयाँ बनाएर जानुपर्ने बताइन । भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिनेगरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने उनको भनाई थियो ।

लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न मन्त्री अर्यालले निर्देशन दिइन । मन्त्री अर्यालले भनिन, ‘कार्यालयमा भिडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’

कोरोनाले नयाँ चुनौती थपेको भन्दै उनले अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बताइन ।

‘अहिले परिस्थिती फेरिएको छ । कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । ती मानिसहरुलाई पनि रोजगारी दिनुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भनिन, ‘हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौ ? त्यसको आकलन गर्न जरुरी छ ।’

ठूलो संख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भएपनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप बृद्धी गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताइन ।

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताए ।

सचिव न्यौपानेले जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नका निम्ती कार्यालय र कार्यालय वरिपरीको बातावरणलाई राम्रो बनाइएको बताए ।

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार २२:०५ 12 June, 2020 10:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।