काठमाडौं । राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक’ प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्रस्ताव गरेका थिए ।
विनियोजन विधेयकको सैद्धान्तिक छलफलकाक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले नागरिकको जीवनरक्षा गर्दै आर्थिक क्रियाकलापलाई बढावा दिनु सरकारको दायित्व भएको बताए ।
यसैले आर्थिक पुनरुत्थान, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा बजेटले विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।
विदेशबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर दिनेगरी विभिन्न कार्यक्रम ल्याइएको उनले उल्लेख गरे ।
छलफलमा सहभागी हुँदै सांसद जीतेन्द्रनारायण देवले महामारीका समयमा प्राथमिकताका क्षेत्र निर्धारण गरेर बजेट विनियोजन हुन नसकेको गुनासो गरे ।
सांसद राधेश्याम अधिकारीले कृषि क्षेत्रलाई रोजगारीको मुख्य स्रोत मानिएको अवस्थामा यसको आधुनिकीकरण नगरी मुलुकको समृद्धि सम्भव नभएको बताए ।
कृषिजन्य उत्पादनको समर्थन मूल्य नतोके कृषि क्षेत्रको व्यावसायिकीकरण सम्भव नहुने जिकिर गर्दै उनले कृषि उत्पादन भन्डारण र किसानको उत्पादन सरकारले खरिद गरिदिनुपर्ने बताएका थिए ।
Comment