काठमाडौं । केही दिनयता उपत्यकामा ‘लकडाउन’ उल्लंघन गर्नेक्रम तीव्र भइरहेकोमा मंगलबार भने प्रहरीले कडाइ गरेको छ ।
सवारी–साधनहरुको आवागमनमा कडाइ गर्नुका साथै बजारको चहलपहल पनि नियन्त्रण गर्ने प्रयास गरिएको छ । मंगलबार एकाएक सडकमा चेकजाँच बढाएको प्रहरीलाई सवारी–साधनको आवागमन नियन्त्रण गर्न निकै मुस्किल भयो ।
काठमाडौंका कालीमाटी, बल्खु, त्रिपुरेश्वर, थापाथली र सोह्रखुट्टेमा गरी प्रहरीले मंगलबारमात्रै करिब चार हजार सवारी–साधन नियन्त्रणमा लिएको छ । जुन लकडाउन लागू भएपछिकै सबैभन्दा ठूलो संख्या हो ।
नियन्त्रणमा लिइएका सवारी–साधनमा अधिकांश मोटरसाइकल छन् भने कार र ट्याक्सी पनि प्रशस्तै छन् । तोकिएको समय पालना नगरेका ढुवानीका गाडीहरु पनि नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रण लिइएका सवारी–साधनलाई चाररपाँच घन्टा ‘होल्ड’ गरी छोड्ने गरिएको छ ।
नियन्त्रणमा लिइएका सवारी–साधनमा विनाकाममा हिँड्नेहरु पनि अधिकांश छन् । चेकजाँच र नियन्त्रणका लागि प्रहरीको संख्या पनि अत्यधिक मात्रामा परिचालन गरिएको थियो ।
Comment