यथार्थपरक पूर्ण बजेट नै ल्याइने, जीवनरक्षालाई पहिलो प्राथमिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यथार्थपरक पूर्ण बजेट नै ल्याइने, जीवनरक्षालाई पहिलो प्राथमिकता




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी जेठ १५ गते यथार्थपरक पूर्ण बजेट नै ल्याउने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार आगामी बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खतिवडाले आर्थिक वर्षको सुरुमै पूरक वा अर्धबजेट ल्याउने कुरै नहुने भन्दै पूर्ण र यथार्थपरक बजेट ल्याउने स्पस्ट पारेका हुन् ।

बजेट आर्थिक पुनर्उत्थानमा केन्द्रित हुनेमा विश्वस्त हुन पनि उनले आग्रह गरे । जीवनरक्षालाई पहिलो प्राथमिकता दिइ स्वास्थ्य पूर्वाधारको विकासमा बजेटले विशेष प्राथमिकता दिने उनले उल्लेख गरे ।

रोगसँगै भोकबाट पनि बच्नुपर्ने भएकाले न्यूनतम् आर्थिक क्रियाकलाप बढाउनैपर्नेमा पनि उनले जोड दिए । आर्थिक क्षेत्रमा लगानी नबढाइ रोजगारी सिर्जना नै नहुने भएकाले सरकार यसमा क्रियाशील रहेको मन्त्री खतिवडाले बताए ।

श्रम समस्या अहिले विश्वकै साझा समस्या भएकाले यसमा सबैको सहकार्य चाहिनेमा पनि उनले जोड दिए । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा भने थप छलफल आवश्यक रहेको उनले उल्लेख गरे ।

संक्रमणको जोखिम रहुञ्जेल सम्बन्धित राष्ट्रमै उचित रेखदेखका साथ राख्न कूटनीतिक पहल भएको र धेरैले स्वीकारेको पनि उनले जानकारी गराए ।

आधारभूत स्वास्थ्य सेवा र शिक्षाअन्तर्गत् न्यूनतम् माध्यमिक तहसम्मको शिक्षामा राज्यको भूमिका भने बढाउनपर्ने देखिएको उनले स्पस्ट पारे ।

स्थानीय क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम, सीमा व्यवस्थापनजस्ता विषयमा संसदको एकमत आउनुपर्नेमा उनले जोड दिए ।

सीमामा प्रहरी परिचालनका लागि बजेटको व्यवस्था भने हुनेमा ढुक्क हुन पनि उनले आग्रह गरे ।

राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक ढंगले अघि बढाउन नसकिएकोमा सबैले उत्तिकै जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार २२:११