काठमाडौं । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र सोको कारणबाट अर्थतन्त्रमा पर्ने क्षति न्यूनीकरण गर्न सरकारले विभिन्न दातृ निकायबाट सहायता परिचालन गर्ने भएको छ ।
अर्थतन्त्रमा पर्ने क्षति न्यून गर्न तीन दातृ निकायबाट साढे २२ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने लक्ष्य सरकारको छ ।
अन्तर्राष्ट्रिय सहायता लिन मन्त्रिपरिषद्को बैठकले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एसियाली विकास बैंक (एडीबी)सँग वार्ता अघि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।
यीबाहेक अन्य द्विपक्षीय र बहुपक्षीय दाताबाट सहयोग लिने तयारी पनि सरकारले थालेको छ । सबैभन्दा बढी सहायता आईएमएफबाट लिने तयारी सरकारको छ ।
आपतकालीन, महामारी, पूर्वतयारी र नियन्त्रण योजनाका लागि विश्व बैंकबाट नेपालले करिब ३ अर्ब ४८ करोड अर्थात् २ करोड ९० लाख अमेरिकी डलर सहुलियत ऋण सहायता पाउने भएको छ । विश्व बैंकले यो रकम सहायता दिने जानकारी गराइसकेको छ ।
त्यसैगरी, भुक्तानी सन्तुलन र विदशी विनिमय मौज्दात व्यवस्थापन गर्न आईएमएफबाट (यापिड क्रेडिट फेसलिटीअन्तर्गत ७ करोड ८५ लाख एसडीआर अर्थात् १३ अर्ब ९ करोड रुपैयाँबराबरको कोटा सुविधा पाउनेछ ।
एडीबीबाट ६ अर्ब रुपैयाँ अर्थात् ६ करोड डलर विदेशी सहायता परिचालनका लागि वार्ता हुने भएको अर्थ मन्त्रलयका प्रवत्ता तथा सहसचिव उत्तरकुमार खत्रीले बताए ।
Comment