कोरोनाले एशियाली क्षेत्रको अर्थतन्त्र ‘डामाडोल’: आर्थिक वृद्धिदर खुम्चने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरोनाले एशियाली क्षेत्रको अर्थतन्त्र ‘डामाडोल’: आर्थिक वृद्धिदर खुम्चने




काठमाडौं । एशियाली विकास बैंकले कोरोना भाइरसका कारण सन् २०२० मा एशियाली क्षेत्रको आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ ।

फिलिपिन्समा मूख्यालय रहेको बैंकद्वारा प्रकाशित एशियन डेभलपमेन्ट आउट लुकमा यस क्षेत्रमा आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरिएको हो । यसअघि बैंकले सन् २०१९ को सेप्टेम्बरमा यस क्षेत्रको वृद्धिदर ५ दशमलव ५ प्रतिशतसम्म हुनसक्ने जनाएको थियो ।

कोभिड–१९ महाब्याधीका कारण यस वर्ष वृद्धिदर खुम्चिए पनि आगामी वर्ष भने ६ दशमलव २ प्रतिशतको वृद्धिदर कायम हुनसक्ने अनुमान बैंकको छ । महाब्याधी नियन्त्रण भई सामान्य आर्थिक गतिविधि भएमा २०२१ देखि प्रगति हुने अुमान बैंकको छ ।

एडिबीका मुख्य अर्थशास्त्री यासुयाकी स्वादाले ‘विश्वव्यापी महाब्याधीका कारण क्षेत्रीय तथा विश्वव्यापी अर्थतन्त्रमा अनिश्चिता पैदा भएको छ । यसबाट वृद्धिदर सुस्त भएको छ र रिकभरी झन् सुस्त छ’ भनेका हुन् ।

पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्रमा उद्योग, सेवा, रिटेल तथा लगानी जस्ता क्षेत्रमा नकारात्मक असर पर्दा वृद्धिदर २.३ प्रतिशतमा सीमित भएको जनाइएको छ । असर सामान्य भएमा सन् २०२१ मा चीनको वृद्धिदर ७दशमलव ३ प्रतिशत हुने अनुमान बैंकले गरेको छ ।

भारतमा भने यस वर्ष वृद्धिदर ४ प्रतिशतमा सीमित हुने बैंकले जनाएको छ । एशियाभित्रका पर्यटनमा आधारित अर्थतन्त्रमा भने धेरै प्रभाव पर्ने बैंकको भनइ छ । महाब्याधीका कारण आर्थिक नोक्सानी २ देखि ४ ट्रिलियन डलरसम्म हुने प्रक्षेपण बैंकको छ ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार १६:२१