सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्रको स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्रको स्थापना




काठमाडौं । विहीबार(आज) ६३ औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन । तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ ।

कोरोना भाइरको संक्रमणका कारण विश्व सँगै देश पनि अहिले संकटमा छ । यस्तो अवस्थामा संक्रमणको रोकथामका निम्ती सहकारी दिवस केन्द्रित रह्यो । यसवर्षको ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माीकुमारी अर्यालले शुभारम्भ गरेकी हुन ।

त्यस अवसरमा केन्द्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताइन ।

विश्व नै संकटमा परेको बेला नेपालमा लगाइएको लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै मन्त्री अर्यालले यसबाट जनतामा केही अप्ठ्यारो परेपनि यसले कालान्तरमा फाइदा पुग्ने भएकाले नआत्तिन आग्रह गरिन । सहकारी दिवसको अवसरमा शुभारम्भ गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्न समेत मन्त्री अर्यालले त्यस अवसरमा आग्रह गरिन ।

त्यस अवसरमा भेन्टिलेटर, पिपिई लगायतको सामग्री हस्तान्तरण गरिएको थियो । कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन ।

त्यस अवसरमा मन्त्री अर्याल सहित मन्त्रालयका सचिव केदार न्यौपाने, सहकारी विभागका रजिष्ट्रार डा। टोकराज पाण्डे, नेपाल बहुउद्देश्यीय केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डे लगायतका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २० चैत्र २०७६, बिहीबार २१:५४