कैलाली । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ ।
विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।
टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताए ।
‘दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्”, उनले भने, “एक जनाले ५० वटासम्म लिएर जाने गरेका छन् ।”
उनले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिए । “पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ”,
तिमिल्सिनाले भने, “हामीले अन्य काम रोकेर मास्क मात्र उत्पादन थालेका छौँ तर पनि माग पूरा गर्न सकिएको छैन ।” मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उनले बताए ।
उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन् । उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरुपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन् । उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन् ।
कैलालीमा सर्जिकल मास्क अभाव छ । भएका व्यापारीले पनि ४० रुपैयाँ प्रतिपिस बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
Comment