काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई विषेश भत्ता दिने भएको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई ७५ प्रतिशत, अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत र अप्रत्यक्ष रुपमा संलग्नलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
बैठकले २० हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट), १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय भएको छ । यस्तै बैठकले कोरोना भाइरसबाच जोगिन काठमाडौं उपत्यका भित्र र बाहिर आईसीयू र आईसोलसन बनाउने निर्णय समेत गरेको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा १ सय २० र उपत्यका बाहिर एक सय आईसूयी बेड बनाउने निर्णय गरेको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०÷२० वटा आईसीयू वेड बनाइनेछ । यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १ सय आईसीयू बेड तयारी गरिनेछ । बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय समेत गरिएको जनाइएको छ । जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २ सय, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २ सय २०, टेकु अस्पतालमा १ सय, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १ सय÷१ सय आइसोलेटेड बेड बनाइनेछ ।
यस्तै भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २ सय ८० वटा आइसोलेटेड बेड बनाइनेछ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको द्रूत सम्भ्यता अध्ययन कार्यदलले गर्न ७३ करोड ५० लाख बजेट प्रस्ताव गरेको हो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको पनि स्क्यान गर्ने निर्णय भएको छ ।
Comment