राष्ट्रिय बीमा संस्थान ५३ औँ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय बीमा संस्थान ५३ औँ वर्षमा प्रवेश



काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५३ औँ वर्षमा प्रवेश गरेको छ ।

संस्थान ५३ औं वर्ष प्रवेश गरेको अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जीवन बीमा क्षेत्रमा संस्थानले आफनो पहुँच बढाउन शाखा कार्यालयका साथै अभिकर्ताको संख्या, गुणस्तर र क्षमता पनि बढाउन सुझाव दिए ।

सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवा प्रदायक निकायहरुको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उनले बताए ।

बीमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरुमा बीमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उनले भने ‘यसको बाबजुद हालसम्म नेपालको कुल जनसंख्याको २२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्षमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्दछु ।’

बीमाका जोखिमलाई विविधिकरण गर्न पुनबीमाको जोखिमलाई पनि विविधकरण गर्नुपर्ने आवश्यकता उनले औँल्याए । बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनी रहेकालाई पनि समेट्ने गरी लाग्न उनको आग्रह थियो ।

संस्थानले संकलन गरेको बीमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिएमा यसले मुलुकको पूँजी बजार विकासतमार्फत आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

सरकारी स्वामित्वको बीमा संस्थानले आधुनिक प्रविधिको प्रयोग र चुस्त व्यवस्थापनबाट सञ्चालित निजी क्षेत्रका बीमा कम्पनीहरुसँग आफुलाई थप कुशल र प्रतिष्पर्धी बनाउँदै जानुपर्ने चुनौती औँल्याउँदै उनले भने ‘अन्तराष्ट्रिय प्रचलन र अभ्यास अनुरुप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधिकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा बृद्घि, आर्थिक अनुशासन, व्यवसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस् ।’

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफनो वित्तीय विवरणहरुको पारदर्शितामार्फत स्वस्थ व्यवसायिकताकाृ माग पहिल्याउन सक्नुपर्ने बताए ।

आगामी दिनमा संंस्थानले बीमा सेवाग्राहीसँगको सुमधुर सम्बन्ध कायम गर्दै छिटो छरितो सेवा प्रदान गर्ने वातावरण तयार गरी बीमा क्षेत्रको प्रतिष्ठा जनमानसमा वृद्धि गराउने र आफनो जिम्मेवारीलाई आत्मसात गर्दै कार्यलाई मर्यादित तथा गुणात्मक तुल्याउने दिशामा अगाडि बढाउन उनको आग्रह थियो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कंडेलले नेपालको सबभन्दा पुरानो एक मात्र सरकारी बीमकको रुपमा संस्थानले गौरबमय इतिहास बोकेको भन्दै एकै चौमाशिकमा तिन गुना बिमा प्रिमियम जम्मा गर्न सफल भएको बताए ।

प्रविधियुक्त सेवाको शुरुवात नयाँ सफ्टवेयर र बीमा एप्सको प्रयोगबाट सुरु गरिएको भन्दै उनले भने ‘यसलाइ आगामी वर्षमा तीव्र बिस्तार गरिने छ ।

केही वर्षयता देखि रोकिएको लेखा परिक्षण बीमा समितिबाट स्वीकृत गर्ने पक्रिया अघि बढाउने संकेत देखिसकेको छ । आगामी वर्षको शुरुवातमै बिमांकीय मुल्यांकन स्विकृती प्राप्त हुना साथ बाँकी रहेका साधारण सभाहरु सम्पन्न गर्नेछौँ ।’

बजारमा प्रचलित अरु केहि बिमा प्रड्क्टहरु लन्च गर्ने र भएका केहि प्रोडक्टलाई अप्ग्रेड गर्दै जाने संस्थाको लक्ष्य रहेको जानकारी दिंदै उनले भने ‘एकिकृत बिमा सफ्टवेयर जडान गर्ने, जनशक्तिको वृद्धि गर्ने, बाँकी रहेको आर्थिक वर्षहरुको लेखा परिक्षण यथाशीघ्र सम्पन्न गरी यसको सेवा बिस्तारलाई आक्रमक रुपमा अघि बढाइ संस्थानलाई आजको प्रतिस्पर्धि बीमा बजारमा अग्रणी स्थानमा प्रमुख हिस्सेदारको रुपमा स्थापित गर्नु नै हाम्रो प्रमुख लक्ष्य रहेको छ ।’

साथै बिमाकोषलाई परिचालन गर्दा लगानी विविधिकरणको आधारमा राज्यले तोकेका महत्वपुर्ण योजना र निकायहरुमा उच्चतम प्रतिफल र सुरक्षालाइ मध्यनजर गर्दै लगानी वृद्धि गर्दै लैजाने नीति संस्थानले अंगिकार गरेको उनले बताए ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले अहिले मूलुकमा स्थापित कूल १९ वटा जीवन बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई मजबुत गराउँदै लगेको जानकारी दिंदै चालु आ.व.को प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरुको जीवन बीमा कोषमा रहेको दुई खर्ब ६५ अर्ब ७१ करोड मध्ये संस्थानको कोषमा २५ अरब ९६ करोड रहेको बताए ।

सो अवधिमा संकलित बीमाशुल्क ४७ अर्ब छ करोड मध्ये संस्थानको ५ अरब ६९ करोड रहेको भन्दै उनले भने ‘यसरी हेर्दा कूल बीमाकोष र बीमाशुल्क संकलनमा संस्थानको हिस्सा क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ । त्यस्तै गरी संस्थानमा कूल बीमालेख संख्या संख्या ६ लाख ८९ हजार रहेको छ ।’

विगतमा आठ वटा मात्र शाखा त्यो पनि निस्कृय अवस्थामा रहेकोमा हाल १४ वटा शाखा कार्यालय मार्फत व्यवसाय शुरु गरी सबै कार्यालयबाट बीमालेख जारी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

यसै आ.व. भित्रै थप १० वटा शाखा कार्यालयहरु स्थापना गरी २४ वटा पुर्याइने भन्दै प्रशासक पाठकले भने ‘यस अवधिमा व्यवसाय विस्तारको अभिन्न अंग रहेको अभिकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । साथै आगामी दिनमा अभिकर्ताको संख्या वृद्धिको लागि निरन्तर तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।

पूराना अभिकर्तालाई उत्प्रेरित गर्न पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ र यो कार्यलाई निरन्तरता दिइनेछ । साथै अभिकर्तालाई उत्प्रेरित गर्न विगतको अभिकर्ता इन्सेन्टिभ कार्याविधिलाई परिमार्जन गरी कार्यान्वयन गरिएको छ ।’

संस्थानमा चालु रहेको सफ्टवेयरलाई विस्थापित गरी यस आर्थिक वर्षबाट वेभ वेस्ड सफटवेयर सञ्चालनमा ल्याइएको जानकारी दिंदै उनले भने ‘हाल नयाँ व्यवसाय मात्र नयाँ सफ्टवेयरबाट सञ्चालन भइरहेकोमा यही आ.व. भित्र सबै पूरानो डाटा माइग्रेशन गरी नयाँ सफ्टवेयरबाट एकीकृत रुपमा कार्य सञ्चालन गरिनेछ । संस्थानको सेवालाई गुणस्तरीय, भरपर्दो र अझ सहज बनाउन मोबाइल एप्स तथा एसएमएस सेवाको शुरुवात गर्नुको साथै संस्थानको वेवसाइट थप व्यवस्थित गरिएको छ ।’

ग्राहकको माग बमोजिम पूरक करारको रुपमा दोहोरो दुर्घटना लाभलाई वृद्धि गरी ५० लाख पु¥याएको छ जानकारी दिँदै प्रशासक पाठकले भने ‘घातक रोग सुविधा स्वीकृतिको लागि बीमा समितिमा पठाइएको छ । त्यसै गरी नयाँ बीमा योजना सञ्चालनको लागि बीमाङ्कीकोमा पठाइएको छ ।’

कार्यक्रममा संस्थानमा आ.व. २०७५/७६ मा आर्जित बीमा शुल्कको आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदक सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको छ ।

सम्मानित हुने अभिकर्ताहरुमा मनकुमारी निरौला, सकुना अधिकारी शिवाकोटी, बद्रि प्रसाद उप्रेती, शान्ती महर्जन, वुद्धि प्रसाद गौतम, राजन रिमाल, बिरेन्द्र बहादुर शंकर, लिला बहादुर श्रेष्ठ, वुद्धि प्रसाद रेग्मी, सुभद्रा अधिकारी, कान्छा थापा क्षेत्री र टंक बहादुर राई छन् ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार १०:५२