चिनको विकल्प खोज्दै सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चिनको विकल्प खोज्दै सरकार



काठमाडौं । नेपालको प्रमुख पर्यटकीय स्रोत बजारका रूपमा रहेको उत्तरी छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मुलुकको पर्यटन क्षेत्रमा पर्ने सम्भावित जोखिम न्यूनीकरण र वैकल्पिक बजारको खोजी गर्न सरकारले उच्चस्तरीय अध्ययन टोली गठन गरेको छ ।

नेपालमा पर्यटक आगमनको दोस्रो ठूलो स्रोत रहेको चीनमा कोरोना भाइरस संक्रमण महामारीमा रूपमा फैलँदा त्यहाँबाट हुने पर्यटक आगमन पछिल्लो १ सातायता लगभग ठप्पजस्तै छ । नेपाल उडान गर्ने चिनियाँ विमान कम्पनीहरूले यो सातादेखि काठमाडौं उडान स्थगित गर्दै छन् भने चीनका पाँच शहरमा उडान गर्ने नेपाली निजीक्षेत्रको हिमालय एयरलाइन्सले तत्कालका लागि चीनका केही गन्तव्यमा आफ्नो उडान बन्द गरेको छ ।

चीनबाट नेपाल आउने पर्यटकको आगमनमा कमी आउने देखिएकाले त्यसबाट नेपाली पर्यटन क्षेत्रमा पर्ने प्रभाव र त्यसको क्षतिलाई पूर्ति गर्न अन्य वैकल्पिक गन्तव्यसहितको सुझाव पेश गर्नेगरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा तीन–सदस्यीय समिति गठन गरिएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी सदस्य रहेको सो समितिलाई ३ दिनभित्रमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

समितिका संयोजक उपाध्यायका अनुसार चिनियाँ पर्यटकको आगमनमा आउने कमीका कारण नेपालको सिंगो पर्यटन क्षेत्रमा प्रभाव पर्न नदिने गरी यसको विकल्पको खोजी गर्ने रणनीतिअनुरूप समिति गठन गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आउनुका साथै भएका बुकिङहरू पनि रद्द हुन थालेका छन् । यसको सबैभन्दा ठूलो असार नेपाल भ्रमण वर्ष २०२० लाई पर्ने स्पष्टै देखिएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले कोरोना भाइरसले नेपालमा पर्यटक आगमन कम नहोस् भन्ने विषयमा सतर्क रहेको बताए । चीनबाहेक अन्य गन्तव्यबाट पर्यटक आगमनलाई बढाई भ्रमण वर्षलाई सफल पार्न सकिने विषयमा अध्ययन गरिने उनले बताए ।

नेपाल आउने चिनियाँ पर्यटकको कुल संख्याको झन्डै ४० प्रतिशत जनवरीदेखि अप्रिलसम्मको ४ महीनामा आउने तथ्यांकले देखाउँछ । तर, सन् २०२० को शुरुआती महीनामै चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या करीब १३ प्रतिशतले घटेको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा चिनियाँ पर्यटकको आगमन घटेर झन्डै १२ हजारको आसपासमा सीमित देखिएको छ, जबकि यो संख्या सन् २०१९ को जनवरीमा १३ हजार ६८७ रहेको थियो । भ्रमण वर्षको सफलताका लागि यो वर्ष चिनियाँ पर्यटकको आगमनमा हुने वृद्धिलाई महत्त्वपूर्ण मानिएको थियो ।

नेपालले सन् २०२० मा चीनबाट ४ लाखभन्दा बढी पर्यटक भित्र्याउने आकलन गरेको थियो ।

प्रकाशित : २० माघ २०७६, सोमबार ०७:१८