वित्तीय अपराध बढेको गुनासो, नियन्त्रणमा चुनौति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वित्तीय अपराध बढेको गुनासो, नियन्त्रणमा चुनौति



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले भ्रष्टाचार नियन्त्रणमा चुनौति थपिंदै गएको बताएका छन् ।

वित्तीय अपराधको जोखिम बढ्दै गएको भन्दै लेखापरीक्षक लाई ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले वित्तीय अपराधका दायरा बढिरहेको भन्दै यो नियन्त्रणको चुनौति रहेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयार देखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे ।

गलत कम्पनी दर्ताहुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको भन्दै उनले जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेकोमा पनि त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुन नहुनेमा उनले ध्यानाकर्षण गराए ।

भ्रष्टाचार अन्त्य गर्ने विषय बोल्ने भन्दा पनि व्यवहारमा उतार्ने विषय रहेको र नियन्त्रणका लागि नियामक निकाय चनाखो हुनुपर्ने बताए । अर्थमन्त्री खतिवडाले प्रशासनिक सदाचारका लागि धेरै कानुन संशोधनको आवश्यकता रहेको पनि औंल्याए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविनकुमार घिमिरेले स्थानीय सरकार धेरै भ्रष्ट हुन थालेको भन्दै संघीयता कार्यान्वयनको संक्रमणकालीन समय भनेर भ्रष्टाचारीलाई छुट दिन नहुने बताए ।

भ्रष्टाचार र ठगीविरुद्ध राज्य निर्मम रुपमा प्रस्तुत नभएसम्म सुशासन सम्भव नहुने उनको भनाइ थियो । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले लेखापरीक्षण गर्ने व्यक्ति आफैंमा व्यवसायिक हुनुपर्ने बताए ।

प्रकाशित : ६ पुष २०७६, आईतवार १९:४०