टुटल र पठाओलाई बन्द गर्ने सरकारको तयारी ,यसरी गर्छ ‘टुटल’ र ‘पठाओ’ले काम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टुटल र पठाओलाई बन्द गर्ने सरकारको तयारी ,यसरी गर्छ ‘टुटल’ र ‘पठाओ’ले काम



काठमाडाै । सर्वसाधारणमा निकै लोकप्रिय बन्दै आएको टुटल र पठाओलाई सरकारले बन्द गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जानकारी दिएको छ । विभागको उक्त सूचना मोटरसाइकल भाडामा लगाउने टुटल तथा पठाओतर्फ लक्षित देखिन्छ।

यो सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने काम बन्द हुने छ । बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ ।

सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

उपत्यकामा ट्याक्सी चालकबाट यात्रु ठगिरहँदा ‘टुटल’ र ‘पठाओ’ राम्रो सेवा दिइरहेकाले सञ्चालन गर्न दिनुपर्ने आवाज उठिरहेका छन् । नियम बनाएर कानुनकाे दायरामा ल्याउनुको साटो ठग व्यवसायीको लैहलहैमा सरकारलागेको सर्वसाधारणहरुको बुझाइ छ । केही दिन अघि मात्रै उपत्यकाको सार्वजनिक सवारी व्यवस्थापनबारे सरोकारवालाहरुबीच खुला छलफल भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार भाडाका सवारीसम्बद्ध संघ–संस्था, ट्राफिक प्रहरी, पर्यटन मन्त्रालय, पत्रकार र यातायात व्यवस्था विभागका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । सो छलफलमा ट्याक्सी व्यवसायीहरुले भने ‘टुटल’ र ‘पठाओ’का कारण आफूहरुको व्यवसाय चौपट भएको गुनासो गरेका थिए ।सेवा दिन नसक्ने र यात्रु संग चर्को रकम असुल्ने ट्याक्सी चालकहरु दबाबमा ‘टुटल’ र ‘पठाओ’बन्द गर्ने निर्णयमा सरकार पुगेको सर्वसाधारणहरु बताउछन् ।

यसरी गर्छ ‘टुटल’ र ‘पठाओ’ले काम

‘टुटल’ र ‘पठाओ’को मोबाइल एप्लिकेसन बनेको छ । त्यही एप्लिकेसन डाउनलोड गरी ग्राहकहरु जोडिन सक्छन् । एप्लिकेसनमार्फत यात्रुले फलानो ठाउँबाट फलानो ठाउँमा जाने भनेर लेखेर पठाउँछन् । त्यसको जवाफ तुरुन्तै आउँछ ।

यति मुल्यमा यति लाग्छ भनेर रुट र नक्सासहित आउँछ । यात्रुले ‘ओके’ भनेपछि एकै छिनमा तोकेको ठाउँमा मोटरसाइकल आइपुग्छ । उनीहरुले न्यूनतम रु ३० रुपैयाँ र प्रतिकिलोमिटर रु १५ का दरले शुल्क लिने गरेका छन् । यो ट्याक्सीको मिटर प्रणाली जस्तै हो । तर यसमा भने ग्राहक आफैँले प्रविधिको प्रयोग गरी सेवा लिन सक्छन् ।

मुख्यगरी नाकाबन्दीका बेलामा सवारीको अभाव हुँदा यो प्रविधिको विकास भएको थियो ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार १५:३९