सहकारी चोर पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी चोर पक्राउ



काठमाडौं । सहकारी संस्थामा भइरहेका चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित सहकारीको कार्यालयमा रहेका सेफ फोडेर नगद धनमाल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका १८ वर्षीय सुनिल थापा मगर र दोरम्बा गाउँपालिकाकै वडा नम्बर ७ घर भएका २१ वर्षीय दान बहादुर थापामगर छन् ।

उनीहरुको साथबाट काठमाडौंको पेप्सीकोला टाउनप्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको मूल ढोका फोडी चोरी गरिएको सेफ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हर्षित बचत तथा ऋण सहकारी संस्थाको सेफ फोडेर ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ चोरी भएको थियो । साथै सेफमा रहेका विभिन्न व्यक्तिका महत्वपूर्ण कागजात पनि चोरी भएका प्रहरीको भनाइ छ ।

प्रहरीले भने २ जनाको साथबाट सेफसहित सेफ फोड्न प्रयोग भएको फलामको औजार र नगद ५३ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार १५:२३