चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी



काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणका र राजनीतिक सम्बन्ध विस्तार विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा भएको सम्झौताको म्याद सकिँदै छ। २०७४ वैशाख २९ मा भएको सम्झौताको म्याद तीन वर्षसम्म मात्र छ। अहिलेसम्म सम्झौताअनुसारका कुनै पनि चिनियाँ परियोजना अघि बढेको छैन। विदेशमन्त्री वाङको भ्रमणलाई बीआरआईको प्रस्तावित परियोजना कार्यान्वयनसँग हेर्न सकिने परराष्ट्र अधिकारीले बताएका छन्।

परराष्ट्र सचिव शंकरदास बैरागीले विदेशमन्त्री वाङको भ्रमणको तिथिबारे अहिल्यै केही बताउन नसकिने बताए। उनले भने, ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणमै वाङलाई नेपाल भ्रमणको निम्ता दिएका हौं। बीचमा कुराकानी पनि भएको छ। भ्रमण निश्चित भएपछि दुवै मुलुकले एकैपटक जानकारी दिने प्रचलन छ।’

परराष्ट्र मन्त्रालय उच्च स्रोतले भने विदेशमन्त्री वाङ आगामी आइतबार काठमाडौं आउने बतायो। स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यसअघि पनि पटकपटक नेपाल भ्रमण गरेका चिनियाँ राजनीतिज्ञ हुन्। उनी सोमबार फर्कने कार्यक्रम छ।

विदेशमन्त्री वाङले भ्रमण राजनीतिक केन्द्रित बनाउने निश्चित छ। उनले नेपालमा रहँदा समकक्षी ज्ञवालीसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रकाशित : १९ भाद्र २०७६, बिहीबार ०६:४५